• Friday 31st of July 2026

महाराजगञ्ज–बूढानीलकण्ठ सडकमा खाल्डैखाल्डा


  • गोकर्णेश्वर अनलाइन

विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डैखाल्डा भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि अझैसम्म सम्पन्न नगर्दा सडकको अवस्था खराब भएको सडक विभागले जनाएको छ ।

सो सडक मर्मतका लागि अहिले ठेक्का प्रक्रिया अघि बढाइएको छ । ठेक्का सम्झौता हुने क्रममा रहेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । प्राधिरकरणले तार जमीनमुनि राखिसकेर सडक पुनःस्थापित गर्ने उहाँले बताउनुभयो । प्राधिकरणले पहिले सम्झौतामा उल्लेख भएको समयमा पुनःस्थापना गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्झौताअनुसार काम नभएकाले सडकको अवस्था झन्झन् खराब भइरहेको छ ।” प्राधिकरणसँग सडक विभागले प्र्रत्येक सात÷सात दिनमा सडक खाल्डा टाल्ने भने पनि सात महीना नाँघ्दासमेत सम्झौताअनुसारको काम हुन नसकेको प्रमुख नेपालीले बताउनुभयो ।

महीनौँदेखि खनिएका खाल्डा नटालिएकाले सवारीसाधन र यात्रुले कष्टकर यात्रा गर्नु परिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले नगरे पनि सडक भएकाले सबैले हामीलाई नै प्रश्न सोध्ने गर्छन् ।”

गत आर्थिक वर्षमा झण्डै ४० किमी सडकमा मर्मत (ओभरले) गरेको डिभिजनले चालू आवमा झण्डै २० किमी सडकमा कालोपत्रको तयारी गरेको छ । डिभिजनले सडक मर्मतसँगै नयाँ सडकको निर्माणसमेत गर्दै आएको छ । निर्माण र मर्मत एकसाथ अघि बढाइरहे पनि अहिले महाराजगञ्ज–बूढानीलकण्ठ सडकका कारण नागरिकले डिभिजनसँग गुनासो गरिरहेका छन् ।

गत आवमा गौशाला–चाबहिल सडकका बारेमा धेरैले प्रश्न सोधिरहेका थिए । सयौँ वर्ष पुरानो पाइपको व्यवस्थापनमा लामो समय लागेकाले सो सडक निर्माणमा लामो समय लागेको थियो । चालू आवमा नागरिक र सरोकार राख्ने निकायले महाराजगञ्ज सडक ढिलाइका बारेमा प्रश्न उठाउने गरेका छन् ।

प्राधिकरणले दुई वर्ष पहिले ३० महीनामा सम्पन्न गर्ने गरी प्रसारण प्रणालीलाई भूमिगत गर्न शुरु गरेको थियो । यसका लागि प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ विसं २०७५ फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हालिएको छ । ठाउँठाउँमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिमसमेत रहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology