• Saturday 25th of July 2026

महोत्तरीमा बेपत्ता झा दम्पतीको कङ्काल भेटियो


  • गोकर्णेश्वर अनलाइन

गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको आज अपराह्न कङ्काल फेला परेको छ ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुईवटा प्लाष्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पती शव फेला परेका जानकारी दिनुभयो । दुवै कङ्काल झा दम्पतीकै रहेको निजका छोरा मनिषकुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताउनुभयो ।

मृतकका छोरा मनिषले बुवालाई उनले लगाएको कपडा र आमालाई उनले लगाएकी चुरा र पोतेको आधारमा पहिचान गरेको उहाँले जानकारी दिनुभयो । आज दिउँसो पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ–नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको पत्ता लागेको हो ।

घटनास्थलमा प्रदेश नं २ को प्रहरी , जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सहोडवाका टोली पुगी दुवै कङ्कालको उत्खनन गरी आवश्यक जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ ।

झा दम्पतीको खोजतलासका लागि प्रहरीले जिल्लाको ४२ पोखरीमा खोजतलास गरिसकेको थियो भने चार दर्जन बढी व्यक्तिलाई सोधपुछ गरिसकेको थियो । त्यस्तै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिकसमेत गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology