• Friday 31st of July 2026

एक दिनको बाटो तीन घण्टामा छोटियो


  • गोकर्णेश्वर अनलाइन

धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।”

धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पुर्याएर बेच्नुभयो । “जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकोप्टर चार्टर्ड गर्थे”, उहाँले भन्नुभयो, “सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो ।”

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ । यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताउनुभयो ।

फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेँशीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्र्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । विसं २०७३ मा शुरु भएको छ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत रु तीन करोडभन्दा बढी लगानी भएको छ । “अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ”, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भन्नुभयो, “मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका छन् ।”

प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु एक करोड ५२ लाखको लागतमा मराङको बेँशीबाट आरवाङ–हाङवाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब ५०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । “यस सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “बेँशीबाट पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट ३० मिनेटमै पुगिन्छ ।”

सात वटा वडा रहेको धवलागिरिको गुर्जाबाहेक छवटा वडामा सडक सञ्जाल पुगेको छ । प्रदेश सरकारमार्फत म्याग्दीखोला र मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । गाउँपालिकाले अस्थायी पुल बनाएको दाङखोलामा पक्की पुल बनाउन ठेक्का लागेको छ । मुदी जोड्ने सडकको दरखोलामा पनि मोटरेबल पुल निर्माणका लागि यस वर्ष सङ्घ सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “गुर्जामा आन्तरिक सडक खन्ने र अन्य वडा तथा बस्तीमा खनिएका सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “बाह्रै महिना यातायात सञ्चालनको व्यवस्था मिलाउन मोटरेबल पुल निर्माण पनि अघि बढेको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology