• Wednesday 29th of July 2026

अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने


  • गोकर्णेश्वर अनलाइन

२ वैशाख (रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।
तर पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा भने उहाँले गर्नुभएको बताइएको छ । यो सँगै उहाँले अफगानिस्तानमा रहेको अमेरिकाको सबैभन्दा लामो समयको युद्धको अन्त्यको घोषणा पनि गर्नुभएको बताइएको छ ।

बुधबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो– हामीले अब अफगानिस्तानमा जारी रहेको युद्धको अन्त्यको घोषणा गरिसकेका छौँ, त्यहाँ रहेका अमेरिकी सेना हामीले फिर्ता गर्ने भएका छौँ ।
त्यस सम्बोधनका क्रममा उहाँले यही मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया शुरु हुने पनि उहाँले बताउनुभएको थियो ।समाचारमा जनाइएअनुसार सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उहाँले सो कुराको घोषणा बुधबार गर्नुभएको हो ।

उहाँले भन्नुभएको थियो– यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ ।अमेरिकाका अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाको २० औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका हुन् । यतिखेर अफगानिस्तानमा नौ हजार ६०० नेटो सैनिक रहेका छन् ।ती नेटो सैनिकमध्ये कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सेना रेहका छन् । तर पनि अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या भने समय समयमा थपघट भइरहने गर्दछ ।

तर पनि अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको कुल संख्या ३ हजार ५०० को नजिक रहेको जनाएका छन् ।राष्ट्रपति बाइडेनले अफगानिस्तानमा २ हजार ४८८ जना अमेरिकी सेनाको यस लामो युद्धका क्रममा निधन भएको जानकारी पनि दिनुभएको थियो ।

साथै उहाँले यस युद्धका क्रममा २० हजार भन्दा बढी अमेरिकी सेना घाइते भएका पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।यस बारेमा नेटोका अरु सदस्य राष्ट्रहरु र अफगानिस्तानमा हिंसा गरिरहेको तालिबान आतंककारीहरुको विचार भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology