• Saturday 25th of July 2026

कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म


  • गोकर्णेश्वर अनलाइन

सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ ।

गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क व्यवस्थापन, आगन्तुकको स्वास्थ्य परीक्षण, आइसोलेसन र क्वारेन्टिन सुरक्षादेखि सङ्क्रमितको शव व्यवस्थापनमा खटिएको सेनाले कोरोनाको दोस्रो कहर आउँदा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै सक्रियता बढाउँदै लगेको छ ।

भारतबाट कोरोना त्रासदीबीच नेपाली स्वदेश फर्किंदा सेनाले यहाँको गड्डाचौकी नाकामा दिइएको जिम्मेवारीअनुसार होल्डिङ सेन्टर निर्माणको तयारीमा रहेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ । होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग र स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने निर्देशन केन्द्रको रहेको छ ।

सैनिक संरचनामा कञ्चनपुरको जिम्मेवारी पाएको सेनाको श्रीदल गुल्मले हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएका १२ जनाको शव महाकाली नदीमा व्यवस्थापन गरिसकेको छ ।

महामारीका बेला गठित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले दिएको जिम्मेवारी र माथिल्लो निकायको निर्देशनअनुसार सेनाले कोरोना कहरबीच त्यसको नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षामा निम्ति खटिएको श्रीदल गुल्मका गुल्मपति सेनानी प्रतीक सिंह कार्कीले बताउनुभयो । “यहाँ कोरोना नियन्त्रणका लागि बिहीबारदेखि गरिएको लकडाउन पूर्णरूपमा पालना गर्न सेनाले विभिन्न गस्तीहरु पनि गर्ने योजनामा छ”, सेनानी कार्कीले भन्नुभयो, “गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माणपछि स्वदेश फर्किनेहरुलाई पनि सीमा नाकामा सहजता मिल्नेमा आशावादी छौँ ।”

त्यसैगरी भीमदत्त नगरपालिकामा सेनाकै जनशक्ति सहयोगमा निर्माण भएको १०० शय्याको आइसोलेसन कक्षको सुरक्षा जिम्मेवारी पनि अहिले सेनाले निभाउँदै आएको छ । कोरोना कहरकै समयमा प्रहरीलाई सुरक्षामा सहजीकरण होस् भनेर कारागारको सुरक्षा पनि सेनाले गर्दै आएको छ ।

गत वर्ष यहाँ तैनाथ सेनाको गुल्म गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालीलाई गरिएको भोजन व्यवस्थापनमा पनि खटिएको थियो । कञ्चनपुरमा बिहीबार राति पनि उपचारका क्रममा दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

सीमामै परीक्षण, लक्षणसहित पोजेटिभ देखिए अस्पताल

झण्डै डेढ महिनादेखि भारतबाट स्वदेश फर्किन लागेका नेपालीलाई गड्डाचौकी नाकामा ‘एन्टिजेन’ परीक्षण थालेको स्वास्थ्य कार्यालयले दैनिकजसो सीमानाकामा पोजेटिभ ‘केस’ आइरहेको जनाएको छ । “हाम्रो चाहना त भारतबाट आउने सबैलाई परीक्षण गर्न पाए हुन्थ्यो भन्ने हो”, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भन्नुभयो, “यहाँ सम्भावित लक्षण देखिएका र भारतको बढी प्रभावित क्षेत्रबाट आएकालाई परीक्षण गर्नु भन्ने निर्देशन छ ।”

उहाँले दोस्रो चरणको कोरोना कहरमा कञ्चनपुरमा १५ जनाले ज्यान गुमाइसकेको बताउनुभयो । “गत वर्ष र अहिले गरी २९ जनाले सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन्”, उहाँले भन्नुभयो, “नाकामा लक्षणविना पोजेटिभ देखिए यहाँको आइसोलेसन र लक्षणसहित गम्भीर देखिए सीमाबाट एम्बुलेन्समार्फत अस्पताल पु-याउने गरेका छौँ ।”

त्यसैगरी कोरोना नियन्त्रणका लागि लकडाउन गरिएपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुलाई सम्बन्धित जिल्ला पु-याउने काम स्थानीय प्रशासनले गरिरहेको छ । “नाकामा होल्डिङ सेन्टर स्थापना गरेर त्यहीँ बस पठाएर सम्बन्धित जिल्ला पु-याउने काम भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले भन्नुभयो, “सङ्क्रमण नदेखिएकाले सोझै घर पठाउने काम भइसकेको छ ।”

गड्डाचौकी नाकाबाट दैनिक ३०० देखि ६०० को हाराहारीमा स्वदेश फर्किने गरेको प्रहरीको भनाइ छ । त्यसगैरी गौरीफन्टा नाकाबाट बितेको एक सातामा छ हजार २१६ नागरिक स्वदेश भित्रिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology