• Wednesday 29th of July 2026

राष्ट्रसंघ भन्छ– गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरे


  • गोकर्णेश्वर अनलाइन

संयुक्त राष्ट्रसंघ, २३ बैशाख (रासस–एपी) – संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।

उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसंघको भनाई छ । प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाई खासगरी दिर्घकालीक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औंल्याएको छ ।

सन् २०१९ मा करिब २ करोड मानिसले खाद्य सङ्कट व्यहोर्नु परे पनि सन् २०२१ मा झण्डै १६ करोड मानिसले सङ्कट, आपतकाल वा भोकमरिको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० वटा मुलुकका झण्डै दुई तिहाई जनताले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, साउथ सुडान, जिम्बाबे र हैटी रहेका छन् । बुर्किना फासो, साउथ सुडान र यमनका करिब एक लाख ३३ हजार मानिसले भोकमरिबाट अतिशय पीडामा छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ३०७ पृष्ठको “ग्लोबल रिपोर्ट अन फूड क्राइसिस” अर्थात विश्वको खाद्य सङ्कट प्रतिवेदनको भूमिका लेख्दै भन्नुभएको छ, “चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको संख्या बढ्दो क्रममा छ ।”

उहाँले भन्नुभएको छ, “अकाल र भोकमरिको एक्काइसौं शताब्दीमा कुनै स्थान छैन । हामीले भोक र द्वन्द्व दुबैलाई एकैसाथ समाधान गर्नुको विकल्प छैन ।”

विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसैनले पाँचौं वार्षिक प्रतिवेदन सार्वजनिक गर्नेक्रममा आयोजित पत्रकार सम्मेलनमा खाद्य सङ्कट निम्तिनुमा प्रमुख रुपमा द्वन्द्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले गत वर्ष विश्वका २३ राष्ट्रका झण्डै १० करोड मानिसले खाद्य सङ्कट व्यहोरेको जानकारी दिनुभयो ।

“हामीले द्वन्द्वको राजनीतिक समाधान नखोज्दासम्म मानवीय सहायता चाहिने मानिसको संख्यामा कुनै कमी आउने देखिन्न,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology