• Saturday 25th of July 2026

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।

पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिँदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको जनाउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो । “पर्यटन क्षेत्रबाट व्यवसायी पलायन हुने स्थिति आयो, असार मसान्त नजिकिँदै छ, बैंकले साँवा ब्याजका लागि पनि उस्तै अत्याउने समय छ, सरकारको मौद्रिक नीतिले सम्बोधन गर्न ढिला भइसक्यो अब व्यवसायी कसरी अगाडि बढ्न सक्छन् ?”, उहाँले भन्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताउनुभयो ।

पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजूदरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उहाँको भनाइ छ ।

परिषद्का महासचिव रामचन्द्र शर्माले वर्तमान अवस्थाबाट व्यवसायीले के कस्ता कठिनाइ र समस्या भोगेका छन्, संस्थागत रुपबाट ती समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर भर्चुअल कार्यक्रममार्फत सुझाव सङ्कलन गरिएको जानकारी दिनुभयो । शर्माका अनुसार छलफल कार्यक्रममा अधिकांश व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको र बैकिङ साँवाब्याजले मानसिक दबाब बढेको, राज्यले मौद्रिक नीति कार्यान्वयन नभएको विषयमा धारणा राखेका थिए ।

परिषद्ले पहिला स्वास्थ्य सुरक्षामा जोड दिँदै अप्ठ्यारो अवस्थामा परेका पर्यटकलाई रेस्क्यु सेन्टर खडा गरेर उद्धारको पहल गर्ने, आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि विशेष पहल गर्ने निर्णय गरेको शर्माले जानकारी दिनुभयो । व्यवसायीका अुनसार हाल पोखरामा सात सय पर्यटकीय होटेलसहित पर्यटकीय क्षेत्रमा खर्बौंको लगानी रहेको छ भने दैनिक करोडभन्दा बढी घाटा यस क्षेत्रले भोगिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology