• Monday 5th of October 2026

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव


  • गोकर्णेश्वर अनलाइन

अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

“मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भन्नुभयो, “यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।” यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको नर्देशक आचार्यको भनाइ छ । उहाँका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ ।

मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उहाँले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताउनुभयो । मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम शुरु हुने उहाँको भनाइ छ ।

तत्काल हिमाल आरोहण नगर्न÷नगराउन मौसमविद्को सुझाव

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न÷नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ । यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

“भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ”, मौसमविद् अर्यालले भन्नुभयो, “यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।” यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology