• Saturday 25th of July 2026

पर्यटनमन्त्री ढकालद्वारा बुद्धजयन्तीको शुभकामना


  • गोकर्णेश्वर अनलाइन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले २५६५औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०७८ को उपलक्षमा शुभकामना सन्देश दिनुहुँदै विश्वभरका बौद्धमार्गी एवं शान्ति तथा अहिंसाप्रेमी सम्पूर्ण दादुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री ढकालले नेपालमा जन्मनुभएका बुद्ध बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर विश्वभरि नै उहाँ आदर्शका रूपमा स्थापित हुनुभएको सोही कारण आज लुम्बिनी विश्व सम्पदा क्षेत्रमा सूचीकृत भई विश्व शान्ति भूमिका रूपमा विश्वभर प्रसिद्ध भएको बताउनुभएको छ । महामानव गौतम बुद्धको जन्म इशापूर्व ६२३ को वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन तथा रानी मायादेवीको सुपुत्रको रूपमा नेपालको लुम्बिनीमा भएको थियो । उहाँले नेपाली भूमिमा जन्मिएर विश्वलाई सत्य, शान्ति र अहिंसाको मार्गतर्फ डो¥याउनुभएको छ ।

पर्यटनमन्त्री ढकालले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक बौद्ध सम्पदाहरुको वैज्ञानिक अन्वेषण, उत्खनन र संरक्षणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै स्थानीय जनताहरूको हितमा बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासको गुरुयोजना तयार गर्ने र प्राचीन कपिलवस्तु राज्यको दरबार क्षेत्र रहेको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि नेपाल सरकार क्रियाशील रहेको बताउनुभएको छ । उहाँले विश्वका करोडौँ बौद्धमार्गी तथा शान्तिप्रेमीहरूको आस्थाको केन्द्र लुम्बिनीको विकास र प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार भएको लुम्बिनी गुरुयोजना आगामी दुई वर्षमा पूरा गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने योजना रहेको जनाउनुभएको छ ।

“कोभिड–१९ महामारीका कारण यस वर्षको बुद्धजयन्ती एवं लुम्बिनी दिवस हामी पूर्णतः निषेधाज्ञाका बीच मनाउनुपर्ने बाध्यात्मक अवस्थामा छौँ । यस अवसरमा लुम्बिनीमा उपलब्ध श्रद्धेय भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमालगायतलाई सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी बुद्ध पूजा, परित्राण पाठ र दीप प्रज्वलन गरी मनाउन अनुरोध गर्दछु । अन्य सम्पूर्ण श्रद्धेय भिक्षु, भिक्षुणी, लामागुरु, गुरुमा र उपासक–उपासिकाहरूलाई पनि स्वास्थ्य मापदण्डहरूको पालना गर्दै आ–आफ्नो स्थानमा बुद्ध धर्म र सङ्घको गुणस्मरणका साथ बुद्धजयन्ती मनाउन हुन हार्दिक अनुरोध गर्दछु”, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology