• Sunday 26th of July 2026

निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री


  • गोकर्णेश्वर अनलाइन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा अध्यादेश जारी गर्नुभएपछि मन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्रीले निर्वाचन लोकतन्त्रको प्राण भएकाले त्यसका लागि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिनुभयो । नयाँ सरकार गठनको सबै विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन भएको तथ्य पेश गर्दै उहाँले निर्वाचन राष्ट्रिय अभिभारा भएकाले त्यसलाई सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्रीले भन्नुभयो, “स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन गराउन हामी प्रतिवद्ध छौँ । बजेटले निर्वाचनलाई यथेष्ट महत्व दिएको छ । आवश्यक बजेट विनियोजन गरिएको छ ।” सरकारले आगामी कात्तिक २६ गते र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

उहाँले सरकारले संविधानसम्मत रूपमा नै बजेट ल्याएको समेत उल्लेख गर्नुभयो । “कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो । यो बहस हुनुलाई मैले सकारात्मक रूपमा लिएको छु”, अर्थमन्त्रीले भन्नुभयो, “सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो । यस्तो सङ्कटको बेला बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन ।” आगामी आवको बजेटप्रति यथेष्ट रूपमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै अर्थमन्त्रीले कार्यान्वयनमा प्रश्न उठेको भए पनि सरकार वस्तुनिष्ठ कार्यान्वयनका लागि लागिपर्ने विश्वास दिलाउनुभयो । थप विवरण केही समयपछि ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology