• Thursday 30th of July 2026

काभ्रेपलाञ्चोकमा सात नयाँ राष्ट्रिय गौरवका आयोजना


  • गोकर्णेश्वर अनलाइन

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकमा सात राष्ट्रिय गौरवका आयोजना समेटिएको छ । यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा काभ्रेपलाञ्चोकमा गत साल शुरु गरिएका बाहेक सात नयाँ पूर्वाधार विकासको क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
बजेटमा भक्तपुरबाट काभ्रेपलाञ्चोकको रवीहुँदै पाँचखालसम्मको सुरुङ्मार्ग, बनेपामा फिल्म सुटिङ स्टुडियो, सुनकोशी नदीको दोलालघाटदेखि खुर्कोट हुँदै चतरा–अरुण दोभान जलयातायात, कागती उत्पादन पकेट क्षेत्र एवं विस्तार, काभ्रे भ्याली स्मार्ट सिटी तथा पाँचखाल, बनेपा, धुलिखेल र पनौती आसपासका सम्भावित क्षेत्रमा शहरी विकासका लागि बजेट विनियोजन गरिएको छ । यस्तै, अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–कोदारीखण्ड स्तरोन्नति (चार–लेन)तथा विस्तार गर्न रु. एक अर्ब १४ करोड व्यवस्था गरिएको छ ।
पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई रु एक अर्ब ५५ करोड र निर्माणाधीन पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज), बनेपाको साँगामा निर्माण हुने प्रतिरक्षा विश्वविद्यालय, तेमाल बृहत खानेपानी योजनालगायत सडक, विद्युत, स्वास्थ्य क्षेत्रका लागि क्रमागत बजेट विनियोजन गरिएको छ ।
विश्वविद्यालयका लागि आवश्यक पाँचखाल नगरको वडा नं. ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं.वडाको दश हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को नामसारी भइसकेको छ । पाँचखालमा निर्माणाधीन सेज छिट्टै सम्पन्न गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
जिल्लाका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट सुनिश्चित गरिएको छ । गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
बजेट उल्लेख गरिएका आयोजना एकमुष्ट तथा क्रमागत आयोजना भएकाले काभ्रेपलाञ्चोकका लागि थयासक्य छिटो र गुणस्तरीय निर्माण गर्नसक्ने बजेट ल्याइने निवर्तमान सांसद एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँले भन्नुभयो “गतसाल शुरु गरिएकालाई क्रमागत बजेट र जिल्लामा नयाँ थप सात वटा राष्ट्रिय गौरवका आयोजना थपिनु हाम्रा लागि सुखद् हो ।” उहाँले जिल्लामा आएका नयाँ आयोजना ‘रुपान्तरणकारी’ भएकाले जिल्लाको मुहार फेरिनेमा ढुक्क हुनुपर्ने उल्लेख गर्दै ठूला गौरवका योजनाबाहेक काभ्रेपलाञ्चोकमा थुप्रै विकास–योजनामा बजेट छुट्याइको जानकारी दिनुभयो ।
सरकारले काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका लागि रु चार अर्ब ८२ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा रु पचास करोड ६९ लाख तथा सबैभन्दा कम खानीखोला गाउँपालिकामा रु छब्बीस करोड १६ लाख विनियोजन भएको हो । यस्तै, धुलिखेल नगरमा रु ४७ करोड १२ लाख, पनौतीमा रु ४५ करोड ७० लाख, पाँचखालमा रु ३८ करोड १८ लाख, मण्डनदेउपुरमा रु ४२ करोड ९९ लाख, नमोबुद्ध नगरमा ३९ करोड २८ लाख तथा रोशी गाउँपालिकामा रु ४१ करोड ४७ लाख, चौंरीदेउरालीमा रु ३४ करोड ४२ लाख, तेमालमा रु ३१ करोड १२ लाख, भुम्लु रु २९ करोड ८८ लाख, महाभारत रु २८ करोड ३६ लाख र बेथानचोक गाउँपालिकाको लागि रु २६ करोड ७० लाख बजेट विनियोजन भएको छ ।
जिल्लामा क्रमागत रुपमा सङ्घ तथा प्रदेश सरकारको बजेटबाट राष्ट्रिय गौरव एवं दीर्घकालीन महत्वका विपी राजमार्ग सडक स्तरोन्नती आयोजना, पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजना, सुरक्षण मुद्रण केन्द्र पूर्वाधार विकास आयोजना, प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार विकास आयोजना, मण्डनदेउपुर बृहत खानेपानी आयोजना, सामुदायिक विद्युतीकरण आयोजना, दूर्गम क्षेत्रबाट राष्ट्रिय राजमार्गसँग जोड्ने रोशी, कोशी र डाँडापारी क्षेत्रमा पुल÷सडक निर्माण, कोशीपूर्वस्थित सडक कालोपत्रे, युवा एभिएसन सेन्टर, बनेपा–धुलिखेल–पनौती (पुण्यमाता) करिडोरलगायत ९५ योजनाको काम भइरहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा पनि केन्द्रीय सरकारबाट जिल्लामा १०४ योजना थिए । क्रमागत रुपमा थालिएका चालू योजनाका काम सुचारु छन् । यस्तै, चालू आबमा भक्तुपुरदेखि धुलिखेलसम्म छ लेनको राजमार्ग निर्माण, ललितपुर ग्वार्को–काभ्रेपलाञ्चोक, कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत पहाडी रेञ्जमा ट्रेल, बुद्ध सर्किट, कोशीपारी जोड्ने चेहेरे पुल, स्थानीय तहका बृहत खानेपानी, सामुदायिक विद्यालयलाई डिजिटलाइजेशनजस्ता महत्वपूर्ण आयोजनामा बजेट विनियोजन भइसकेका छन् ।
काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा निर्माण हुने ५३६ मेघावाट जलाशययुक्त विद्युत उत्पादन अध्ययन प्रक्रियाको काम ९० प्रतिशत सकिएको छ । “सुनकोशीबाट विद्युत उत्पादन गर्न ठूलो रकम आवश्यक पर्नेहुँदा दाता राष्ट्रबाट सहयोगको लिनुपर्छ” नेता बाँस्कोटाले भन्नुभयो । विद्युत उत्पादनलगायत जिल्लामा चालु क्रमागत आयोजनाको काम गत वर्ष र यसवर्षको कोरोना महामारीका कारण केही धकेलिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology