• Sunday 26th of July 2026

नेप्सेमा चमक : बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, सात कम्पनीको शेयरमा सर्किट


  • गोकर्णेश्वर अनलाइन

मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मङ्गलबारको कारोवारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण रु ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।
नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताउनुभएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको हो । उहाँले आज आयोजित एक श्रव्यदृश्य कार्यक्रममा उक्त जानकारी दिनुभएको थियो । सोमबारको तुलनामा आज बजार पूँजीकरण मात्रै रु ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको हो । मुलुकको कूल गार्हस्थ उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुगेको छ ।
नेप्सेका अनुसार कूल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता शेयर रु १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ । बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बीमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३,जीवन बीमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ बिन्दुले बढेको छ ।
कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब छ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
रसुवागडी हाइड्रोपावर रु ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी रु ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक रु ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक रु ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology