• Saturday 25th of July 2026

खोज पत्रकारिता छुट्टै विधाका रुपमा स्थापित भएको छ : गाउँले


  • गोकर्णेश्वर अनलाइन

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारिता र खोज पत्रकारिता एउटै नभई फरक विधाका रुपमा स्थापित भएको बताउनुभएको छ । पत्रकार महासङ्घ तनहुँ शाखाले आज भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारितामा खोजका मुद्दा विषयक तालीममा गाउँलेले सामान्य बेलामा गर्ने भन्दा खोज पत्रकारिता फरक पाटो रहेको उल्लेख गर्नुभयो ।

“भित्रसम्म गएर खोतल्ने र अनुसन्धान गर्ने विधा खोज पत्रकारिता हो, आजभोलि खोज पत्रकारितामा छुट्टै विधाको रुपमा चिनिन थालेको छ,” गाउँलेले भन्नुभयो, “कसैले दिएको सूचना सार्वजनिक गर्नु खोज पत्रकारिता होइन, पत्रकारले आफैँले मिहेनत गरेर सार्वजनिक गरेको विषयवस्तु खोज पत्रकारिता हो ।”

खोज पत्रकारिता चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गाउँलेले यसका लागि समय, स्रोत र ज्ञान आवश्यक पर्ने बताउनुभयो । “खोज पत्रकारिताले समय बढी माग गर्छ, साधन स्रोतको माग गर्छ,” गाउँलेले भन्नुभयो, “राम्रो रिपोर्ट बनाउन समय र पैसा दुवै चाहिने भएकाले खोज पत्रकारिता सामान्य विधा हो भन्दा भन्दै पनि फरक विधाका रुपमा स्थापित भइसकेको छ ।”

गाउँलेले खोज पत्रकारिता गर्ने क्रममा पत्रकार एकदमै संवेदनशील हुनुपर्ने चर्चा गर्दै निजी मामिलामा प्रवेश गरी गालीबेइज्जती हुने खालका पत्रकारिता गर्न नपाइने बताउनुभयो । गाउँलेले खोज पत्रकारिता भनेको के हो, खोज पत्रकारिता गर्ने तरिका, माध्यम, खोज पत्रकारिताका सीमा र खोज पत्रकारिता विषयका बारेमा प्रकाश पार्नुभयो ।

शुक्रबारदेखि शुरु तालीमको पहिलो दिन ‘सङ्घीयतामा स्थानीय तह र रिपोर्टिङका हाम्रा मुद्दा’ विषयमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष धमेन्द्र झाले प्रस्तुतीकरण गर्नुभएको थियो । कोरोना कहर र निषेधाज्ञाका कारण क्रियाशील पत्रकार घरमै बसेर पत्रकारिता गरिरहेका अवस्थामा भर्चुअल माध्यमबाट तालीम आयोजना गरिएको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology