• Sunday 26th of July 2026

काँठ क्षेत्रका किसानलाई कोरोना बिर्साउँदै धान रोपाइँको चटारो


  • गोकर्णेश्वर अनलाइन

निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको बीउ काढ्दै त, कोही महिला हातभरि बीउ लिएर गाँभो खेतमा गाड्दै ।

अचेल भक्तपुरमा मात्रै नभई काँठका अधिकांश क्षेत्रमा दैनिक देखिने दृश्य हुन् यी । धान रोपाइँको यो पर्वले खेतमा रहेसम्म कोरोना भाइरसको त्रासलाई बिर्साइदिन्छ, मानौँ कि देश कोरोना भाइरसबाट मुक्त भइसक्यो ।

“मानो रोपेर मुरी फलाउने बेला, त्यसमाथि पनि यस वर्ष बेलैमा मनसुन भित्रिएको छ, धान रोपाइँ बेलैमा सक्न पाए, धान राम्रो फल्ला कि भन्ने आशा छ, कोरोनाले किसानको यो पर्वलाई कहाँ छेक्न सक्छ र ?” रोपाइँका क्रममा खेतको माटो पल्टाउँदै गरेका चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरी भन्नुहुन्छ । यसवर्ष छिट्टै पानी परेपछि कोरोनाको कहरबीच किसानलाई धान रोप्ने चटारो परेको छ । काँठ क्षेत्रका अधिकांश ठाउँमा धान रोपाइँ भइरहेको छ तर खेताला नपाउँदा भने समस्यामा छन् किसानहरु ।

काँठ क्षेत्रमा गोरु पाल्न छाडिसकेका छन् । ट्र्याक्टरलगायतका नयाँ प्रविधि त्यति धेरै भित्रिएका छैनन्, केही वर्ष अघिसम्म भक्तपुरमा काभ्रे र सिन्धुपाल्चोकदेखिका मानिस आएर ज्यालामा खेत रोपाइँ सकेर जान्थे, केही वर्ष यता त्यसरी आउन छाडेका छन् । यहाँ भएकाहरु कोही विदेशिएका छन्, धान रोपाइँमा ज्यालामा मानिस नपाउँदा र पर्मको प्रचलन विस्तारै हराउँदै गएपछि धान रोपाइँमा भने समस्या परेको बताउनुहुन्छ ताथलीका दिवाकर खड्का ।

कोरोनाको त्रासले किसानको दैनिकीलाई नरोक्ने बताउनुहुन्छ सूर्यविनायक नगरपालिका–८ सिपाडोलकी सन्तोषी नगरकोटी । उहाँ हाँस्दै भन्नुहुन्छ, “कोरोनाको त्रास त छ नि, खोप लगाउन पाए हुन्थ्यो, खै सरकारले हामीलाई पुग्ने गरी खोप कहिले दिने हो, कोरोनाको डरले खेती गर्नै छाड्नु त भएन नि !”

असारे भाका हाल्दै रोपाइँलाई बिट मार्ने चलन अहिले काँठमा हराउँदै गएको छ । दिउँसो खेतको आली र चौरमा वरिपरि बसेर साँधेको आलुको अचार, तरकारी र चिउरा खाजा खाने प्रचलन पनि काँठमा हराउँदै गएको छ । सूर्यविनायक–१० चित्तपोलकी सुमित्रा थापा भन्नुहुन्छ, “पहिलाको जस्तो रौनक छैन अचेल, धान रोप्दा हिलो छ्याप्ने, बीउको मुठाले हान्ने, असारे भाका हाल्ने चलन हराइसक्यो, असारे गीत गाउँदा मेलो सरेको पत्तै हुदैनथ्यो, खाजा खाँदा त्यो मिठो स्वाद अहिले कहाँ पाउनु र ?”

खेतमा आली लगाउने, माटो पल्टाउने, माटो सम्याउन बाउसे गर्ने काम पुरुषको हुन्थ्यो, ब्याडमा गएर बीउ काढ्ने र धान रोप्ने काम महिलाको हुन्थ्यो तर अहिले पुरुष ज्यामी पाउनै छाडेपछि कतिपय ठाउँमा महिला आफैँले माटो पल्टाउने, सम्याउने र रोप्ने गर्न थालेका छन् । यद्यपि ज्यालामा विभेद भने कायमै छ । अहिले दिनभरि काम गरेको पुरुषले रु एक हजार ५०० ज्याला पाउँछन् भने महिलाले रु एक हजार पाउँछन् । तर विगतका वर्षमा भन्दा फरक भइसकेको छ अचेल मेला पर्मको काम ।

केही वर्ष अगाडिसम्म बिहान उज्यालो भएपछि खेतमा गएर नौ बजे घर फर्कने गर्दथे भने बिहान १० बजे खेतमा पुगेपछि झमक्क साँझ नपरेसम्म खेतमा काम गरेर फर्कने प्रचलन थियो । अहिलेभने यो समयसीमा परिवर्तन भएको छ । किसानहरुका अनुसार अचेल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै काम गर्छन् । यसलाई आधादिनको गणना गरेर ज्याला पाउँछन् । बिहान पनि १० बजे खेतमा पुगेर ५ बजे नै फर्कन्छन् । यसलाई दिनभरिको गणना गरेर ज्याला दिन्छन् ।

पहिला बिहान खाजा दिने प्रचलन थिएन तर अहिले बिहान खेतमा ८ बजे चिया र नास्ता खुवाउनु पर्ने नियम छ । दिउँसो पहिला खाजा मात्रै खुवाइन्थ्यो भने अहिले दिउँसो खाजासँगै फर्कनुअघि चिया र नास्ता खुवाउनु पर्ने नियम नै बसेको छ । समयानुसार काम, ज्याला र खाजामा परिवर्तन भएको छ । यो प्रचलनले ज्यालामा काम गर्नेहरुका लागि राहत मिलेको बताइएको छ ।

सरकारले किसानका लागि छुट्याएको बजेटले वास्तविक किसानलाई राहत नपाएको बताउँछन् । अधिकांश किसानको टाठाबाठा, पहुँच भएकाले हरेक वर्ष सरकारको अनुदान र अनुदानमा सामग्री पाउने गरेको गुनासो छ । सरकारले छुट्याएको बजेटबाट ट्र्याक्टरलगायतका विभिन्न प्रविधि खरिदका लागि निश्चित मापदण्ड बनाएर किसानलाई प्रत्यक्ष छुट दिने व्यवस्था गरे सहज हुने बताउँछन् किसानहरु ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology