• Thursday 30th of July 2026

निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक


  • गोकर्णेश्वर अनलाइन

भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ ।

रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रु एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो । उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो ।

तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा रु एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर रु दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुदैं कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् ।

सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयभन्दा एघार महिना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक बर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महिना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ । ”

निर्माण सम्पन्न भएको पाँच महिनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रूत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले लुम्बिनीगेट अगाडी भन्नुभयो, “बाटोको गुणस्तर कमजोर छ । बनेर नसकिँदै भत्किन थालिसकेछ ।” चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रूतगतिमा गाडी चलाउन नपाएको बताउनुभयो ।

योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदन्डको विषयमा कन्सल्टेन्टको रिर्पोट अनुसार नै काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण दुई महिनादेखि म सडक निरीक्षण गर्न गएको छैन । तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिर्पोट ठीक नै देखिन्छ । ” निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै भत्किने सडकको गुणस्तर करोडौं खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिर्पोट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ ।

यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले भन्नुभयो, “हामी पनि अचम्मै भएका छौं । चिन्तित छौं । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौ । ” उहाँले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगा गिट्टी बालुवा तथा माटो प्रयाप्त नपाउँदां काममा ढिलाइ भएको स्वीकार गर्नुभयो । ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडकखण्डमा ३६ वटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५१ सय रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पूरा भएको छैनन ।

सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology