• Monday 5th of October 2026

लगातारको वर्षाले जनजीवन अस्तव्यस्त


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, १७ असार (रासस): मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कोभिड–१९ सङ्क्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मङ्गलबार रातिदेखि लगातार परेको पानीले वाक्कदिक्क बनाएको हो ।

मङ्गलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् । लगातारको वर्षाले जिल्लाका मध्य र दक्षिणी क्षेत्रका गाउँ÷ नगर बस्ती जलमग्न छन् । भर्खरैको धानको रोपो नदेखिने गरि पानीले ग¥हा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्य छन् ।

पछिल्लो लगातारको वर्षाले सबैभन्दा बढी सकस पशुबस्तु चरणमा परेको छ । चरणक्षेत्र पानीले डुबेका र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईबस्तु गोठमा ड्वाड्वा कराई रहेका सुनेर बस्नु परेको भङ्गाहा नगरपालिका–४ रामनगरका पशुपालक किसान हिरादेवी दाहालले बताउनुभयो । “लाग्दो असारदेखि नै पानी पर्दै आएको छ, यसअघिको वर्षा त खेतीपातीका लागि पनि ठिकै थियो”, उहाँले भन्नुभयो, “पछिल्लो लगातारको वर्षाले त उभिने ठाउँ पनि राखेन, जताततै जलाम्य ! यी गाईभैंसी कसरी बचाउनु ?” दाहालले गोठका भैंसीतिर देखाउँदै भन्नुभयो– “तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन ।” झरीमा आपूm खोलेफाडो खाएर गुजारा काटेपनि पशुबस्तुको बिजोगले मन कुड्याएको उहाँको भनाइ छ ।

असार लागेदेखि बेलाबेलामा परेको पानी र अहिले गत मङ्गलबारदेखिको लगातारको झरीले लहरे तरकारी बालीका बेला (लहरा) पहेंलिने, चुडिने र गल्ने गरेका छन् । लागेका फलपनि नहुर्कदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताउनुभयो । तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ । थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला र चिचिला पहेंलिएर सुक्ने गरेको किसानले बताएका छन् । लगातारको वर्षाले यहाँका नदीहरुमा बाढी उर्लेको छ । बडहरी, रातु, भव्सी, जङ्घा, मरहा, टुटेश्वर, खयरमारा र बाँकेलगायतका नदीमा उर्लेको बाढीले उर्वर जग्गा र त्यसमा लगाइएको बालीसमेत कटान गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रका बासिन्दा डुवानको पिरोलो खेप्दैछन् ।

मध्य असारसँगैको लगातारको वर्षा र बाढीले कैयन ठाउँमा सडक र बाँध भत्काएको छ । वर्षाले निम्त्याउन सक्ने खतरातर्फ सर्वसाधारणलाई सचेत गराइँदै सम्वद्ध निकायलाई उद्धार र मर्मतसम्भार कार्यका लागि तयार रहन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । “वर्षा अझै बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति बढाउन सक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ”, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भन्नुभयो, “नदी तटका बस्तीमा पूर्वसतर्कताका लागि सूचना प्रवाह र आइपर्ने उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।”

लाग्दो असारदेखि नै परेको पानीले यहाँका जलेश्वर–रामगोपालपुर–बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) पनि चल्न नसक्ने भएका छन् । हिलाम्य सडकले पैदल यात्रा पनि सकसपूर्ण बनेको छ । झन् पछिल्लो वर्षाले त कैयन ठाउँमा बाटोको चिनोचपेटो पनि देख्न छाडिएको छ । यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोवस्त भएपनि ती कम्पनीहरु कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ । “काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन् ?”, जलेश्वर–रामगोपालपुर–बर्दिवास सडकमा पर्ने औरहीका बासिन्दा बाबु प्रेम यदुबंशीले भन्नुभयो–, “ठेक्का बन्दोवस्त भएको दुई वर्ष नाघ्दा पनि काम गतिमा सरेको छैन ।”

जिल्लाका मुख्य सडकको दुरावस्थाबारे सम्वद्ध सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । “सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छौं”, निमित्त प्रजिअ न्यौपानेले भन्नुभयो–, “केही त कोभिड–१९ महाव्याधिले असर ग¥यो, अब मौसम अनुकूल हुनासाथ काम बढ्छ ।”वर्षायाममा सबैभन्दा बढी नोक्सान कटान र डुवानबाट हुने गरेको छ । यसका लागि हिउँदमै पूर्वतयारी गरिनु पर्ने काम अभ्यासमै आउन नसकेको स्थानीय वुद्धिजीवीको गुनासो छ । नदीहरुमा भइरहेको अनियन्त्रित उत्खनन्ले नदीको बहावक्षेत्र फैलने, तटवन्ध भत्कने, नदीको सतह भरिदै गएर डुवान समस्या बढ्ने गरेको शिक्षण पेशाबाट निवृत हुनुभएका भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारुको भनाइ छ ।

“हामीमा ‘जब प-यो राती, अनि बुढी ताती’ भनिने उखानले घर गरेको छ”, उहाँले भन्नुभयो, “कहिल्यै चेतेनौ, हिउँदमा प्रयत्न गरिदैन, वर्षा लागेपछि गरेको दौडादौडले थेग्दैन ।” वर्षायाममा हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर हिउँदमै पूर्वतयारी गरे जोखिम घट्दै जाने उहाँको विश्वास छ । यस दिशाामा सम्वद्ध पक्ष र निकायले ध्यान दिन पर्ने सर्वसाधारणले सुझाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology