• Monday 5th of October 2026

रोकिएन वर्षा : जताततै जलमग्न


  • गोकर्णेश्वर अनलाइन

छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर (पानी पर्न रोकिनु, उघ्रनु) हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको वर्षा थामिएर आइतबार बिहान घाम देख्दा उबेर हुन्छ भन्ने आश पालेका उनीहरु हिजो साँझदेखि पुनः वर्षा हुनथालेपछि निराश भएका हुन् ।

“अब त उबेर भयो, काममा लाग्न पाइने भइयो भन्ने आश जागेको थियो”, बर्दिबास–९ पशुपतिनगरका ८० वर्षीय जुगेश्वर ठाकुरले भन्नुभयो, “तर हाम्रो आशले थामेन, आइतबार साँझदेखि पुनः वर्षा शुरु भयो ।”

यही असार १५ गते धान दिवस मनाइएकै दिनदेखि लगातार परेको पानी आइतबार बिहानदेखि झलमल्ल घाम देखिएको थियो । छैटौँ दिन आकाश उघ्रँदा पानी अब रोकिन्छ भन्ने आश त्यसै दिन साँझ दोहोरिएर पानी पर्न थालेसँगै मरेको यहाँका किसान बताउँछन् ।

घट्दै गएको नदीको सतह मुसलधार पानी परेसँगै ह्वात्तै बढेको छ । यहाँका रातु, बडहरी, ओक्सी, कुटमेश्वरी, मरहा, जङ्घा र बाँकेसहितका नदीमा उर्लेको बाढी बस्ती÷बस्तीमा पसेको छ । जिल्ला सदरमुकाम जलेश्वरका रतबारा, बखरी, बेला, रमौल, बजराही, धवौली, मलिवारा, खैरा र भिठ्ठामोर बस्ती रातु नदीको बाढी उछालिएर पस्दा जलमग्न भएका छन् । जलेश्वर नगरको मुख्य चोक मानिने नगरपालिका र शङ्करचोकका सडकमा बाढी बगेको छ । रातुको बाढीले बहावा क्षेत्र, सडक, खेत, बस्ती केही छुट्याउन नसकिने भएको बखरीवासी कौशलेन्द्र शर्मा बताउनुहुन्छ ।

जिल्ला सदरमुकाम जलेश्वरबाट मटिहानी जाने सडकको सुगाभवानीपट्टी नजिकको लचका (कजवे) मा बाढी चलेपछि साइकल, मोटरसाइकल र टेम्पुसहितका साना सवारी साधन चल्न सकेका छैनन् । बर्दिबास–रामगोपालपुर–जलेश्वर सडकका कैयन ठाउँ डुबान र कटानमा परेका छन् ।

बर्दिबास–रौजा–जलेश्वर, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र ग्रामीण क्षेत्रमा यातायात सञ्चालन हुँदै आएका सडकको वर्षा र बाढीको पानीले बेहाल बनाएको छ । असार–१५ देखिको अविरल वर्षा र त्यससँगैको बाढीले जिल्लाका दर्जनौँ बस्ती डुबानमा परेका छन् । पराले छाप्रामा गुजारा चलाएका गरीबको टाउको ओताउने छाप्रो पनि बाढीले बगाएको छ । जताततै जलमग्न हुँदा क्षतिको यकीन विवरण लिन पनि सकस छ । यसपाली पछिल्लो वर्षा र बाढीले कटानभन्दा डुबानले क्षति बढाएको जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंह बताउनुहुन्छ ।

“ठाउँठाउँमा कटान पनि छ, तर धेरैजसो बस्ती डुबानले समस्यामा परेका छन्”, उहाँले भन्नुभयो । जिल्लाको मुख्य बाली मानिने धान रोपाइँको सघन बेलामै परेको डुबानले केही पहिले रोपिएको धानको रोपो र ब्याडको बीउ गलाएपछि यसपाली किसानले धानबालीबाट उत्पादन लिने आश मारेका उहाँको भनाइ छ ।

जिल्लामा ५० हजार हेक्टर क्षेत्रफल धानखेती गरिँदै आइए पनि मौसमको प्रतिकूलताले अपेक्षित रोपाइँ कहिल्यै गर्न नसकिएको किसान बताउँछन् । “वर्षेनी बाढी, डुबानको समस्या छ, न त्यसको इन्तिजाम छ, न बीउ, मल नै समयमा पाइन्छ”, भङ्गाहा नगरपालिका–६ हतिसर्वाका ऐनुल राइन भन्नुहुन्छ, “ओरपरका नदी खेतमा सिँचाइका लागि काम आउनुको सट्टा घरखेत बगाएको आँखाभरी हेर्नु परेको छ, के उक्सिउँला हामी किसान !”

जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइको प्रबन्ध (कुलो, नहर) पुगेको र बाँकी जग्गा आकासे खेतीकै भरमा गरिन्छ । स्थायी सिँचाइ प्रबन्ध भएका ठाउँमा पनि खडेरी पर्दा पानीको स्रोतको मुहान सुकेर आकाश नै ताक्नु पर्ने अवस्था कैयौँ साल परेको सिञ्चित भनिएको क्षेत्रकै किसान बताउँछन् ।

लगातारको वर्षा र डुबानले धान खेतीमात्र नभएर तरकारी खेती पनि चौपट भएको छ । तरकारीका बेला (लहरा) र बोट निरन्तरको वर्षाको चोटले सोत्तर भएर लडेका छन् । तरकारी पानीले गलाएर बोट र लहरा पहेंलिँदै गएर सुक्दैछन् । यसैगरी जताततै डुबानले घरपालुवा पशुबस्तु चरणमा लान, डुलफिर गराउन नपाएर गोठकै हिलोमा राख्नु परेको पशुपालक किसानको बिलौना छ । लगातारको वर्षाले पशुबस्तुको आहारा जुटाउन सकस परेको लोहारपट्टी–१ बगडाका सियाशरण यादव गुनासो गर्नुहुन्छ ।

जिल्लाको यो अवस्था अन्त्यका लागि टालटुले बाँधले नथेग्ने देखिएको छ । कटान र डुबान रोक्न नदीमा दुईतर्फी पक्की तटबन्ध निर्माण र नदी र यिनका मुहान क्षेत्रमा हुने अनियन्त्रित उत्खनन् रोक्नसके मात्र अवस्था फेरिने पाका किसानको भनाइ छ । यस काममा तीनै तहका सरकारको पहलकदमी, तदारुखता र प्रतिबद्धता काममै देखिए बाढी, डुबान र कटानको समस्या घट्दै जाने जलेश्वर–६ बखरीका ८० वर्षीय महेश्वर रायको सुझाव छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology