• Friday 31st of July 2026

बर्खा लागेसँगै ग्रामीण सडक अवरुद्ध


  • गोकर्णेश्वर अनलाइन

महाभारत गाउँपालिका–५ कलवनका चन्द्रमान थिङ बर्खा लागेसँगै अब कतिपटक गाडी ठेल्दै गन्तव्यमा पु¥याउने हो भन्ने चिन्ताले सताउने गरेको बताउनुहुन्छ । डाँडापारि क्षेत्रमा सडक सञ्जालले जोडेदेखि नै त्यही क्षेत्रमा बोलेरो चलाएर जीविका चलाउँदै आउनुभएका उहाँ यसपालिको बर्खामा पनि त्यही समस्याले पिरोल्ने गरेको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा जसोतसो सडकको पहुँच पुगेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न र खाद्यान्न ढुवानीका लागि सहज भए पनि बर्खायाममा भने बोकेर नै लानुपर्ने बाध्यता छ । भएको सडकको पनि उचित व्यवस्थापन नगर्दा सो क्षेत्रमा गाडी चलाएर जीवन गुजारा गर्दै आएका चालकले त्यस्तो समस्या बेहोर्नुपरेको बताउनुहुन्छ । थिङले भन्नुभयो, “यस क्षेत्रमा सडक पुगेदेखि नै यतै गाडी चलाउँदै आएको छु, अहिले पनि बाटो खन्ने कामका लागि तेल ढुवानी गर्छु ।” यद्यपि त्यसरी बाटो खनेपछि नाली व्यवस्थित नगर्दा र ठाउँठाउँमा जाने पहिरोका बारेमा समयमै नसोच्दा आफूजस्ता चालकले बढी हैरानी बेहोर्नुपरेको उहाँको भनाइ छ ।

बर्खायाम शुरु भएसँगै जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको लगातारको वर्षाले अधिकांश ग्रामीण सडकमा पहिरो जाने, हिलो हुने र ढिस्को खस्ने गरेका कारण यस क्षेत्रमा यातायात चल्न सकेको छैन । वर्षाका कारण काभे्रपलाञ्चोकको विकट डाँडापारिका दुई खानीखोला र महाभारत गाउँपालिकाको केन्द्रसम्म पुग्ने यातायात ठप्प भएको छ । सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा सवारी साधन गुड्न छाडेको हो । स्थानीय तहहरूले बजेटको अधिकांश रकम सडकमा हालेको भए पनि त्यसको उचित सदुपयोग र गुणस्तरीय काम नहुँदा समस्या भएको हो । सडकको ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका सडक अहिले जताजतै हिलाम्य हुने, माथिबाट ढिस्को झरेर पुर्ने र भत्केको अवस्थामा छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पालिका सदरमुकाम जोड्ने पक्की मोटरबाटो बनाउन नसकेका कारण त्यहाँका बासिन्दाले समस्या भोग्नुपरेको बताउनुभयो । मुख्य राजमार्गदेखि पालिका केन्द्रसम्म पक्की मोटरबाटो जोड्नका लागि रु दुई अर्ब १४ करोड बजेट आवश्यक भएको र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसक्दा बर्खायाम लागेसँगै कामको सिलसिलामा पैदल हिँडेर सेवा लिन बाध्य भएको उहाँले बताउनुभयो । त्यसका लागि विस्तारै काम भइरहेको उहाँले बताउनुभयो । अहिले रु ६६ करोडको ठेक्का भइसकेको र बाँकी कामका लागि पनि प्रदेश र सङ्घ सरकारसँग माग गरिरहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले ट्र्याक खुलाएपछि अहिले वाग्मती प्रदेश सरकारले स्तरोन्नतिको काम गरिरहेको छ । विपी राजमार्गको पिन्थलीबेँसी हुँदै रजवास–चारकिल्ला–तीनखुट्टे–देवीटार सडकखण्ड र विपी राजमार्गको चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार–तीनखुट्टे–देवीटार सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ ।

उता खानीखोला गाउँपालिका–६ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मानबहादुर गोलेले बर्खायाम शुरु भएसँगै पालिका केन्द्र जोड्ने सडक अवरुद्ध भएको बताउनुभयो । सडक अवरुद्ध भएसँगै पालिका केन्द्र जानलाई हिँडेरै जानुपर्ने बाध्यता छ । गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि ती मापदण्डानुसारका नहुँदा हरेक बर्खायाममा सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सरकारी मापदण्डविपरीत र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने तर समयमा मर्मत नगरिँदा हरेक बर्खायाममा ती क्षेत्रका सडक अवरुद्ध हुँदै आएको हो । ग्रामीण भेगको यातायात प्रभावित भएसँगै सरदमुकाम र डाँडापारिको दूरी बढेको छ ।

नेपाल सरकारले प्रत्येक पालिक केन्द्र जोड्ने पक्की मोटरबाटो निर्माण गर्ने नीति तथा कार्यक्रम घोषणा गरेको चार वर्ष बितिसकेको भए पनि ती कामलाई प्राथमिकतामा नराख्दा ग्रामीण जनताले दुःख खेप्न बाध्य भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology