• Saturday 25th of July 2026

युवाको रोजाइमा पर्दै साहसिक जलयात्रा


  • गोकर्णेश्वर अनलाइन

महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (-याफ्टिङ्ग ) युवाको रोजाइमा पर्न थालेको छ । भीमदत्त नगरपालिका—९ को मुसेट्टीदेखि खल्लासम्म युवाले -याफिटङ्ग गर्दै आएका छन् ।

तराईको गर्मीबाट मुक्ति पाउन र रमाइलो गर्नका लागि -याफ्टिङ्ग गर्न जाने युवाको सङ्ख्या बढ्दै जान थालेको छ । भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदीमा -याफ्टिङ्ग गर्दै आएको थियो । गत वर्षको फागुनमा पानी दिवसको अवसर पारी भीमदत्त नगरपालिकाले -याफ्टिङ्गको परीक्षण गरेको हो ।

त्यसपछि हप्तामा दुईदेखि तीन दिनसम्म युवाको टोली -याफ्टिङ्गका लागि पुग्ने गरेको मुसेट्टीवासीको भनाइ छ । “पहिले भारतीय पक्षले नदीमा जान समेत दिंदैनथ्यो” स्थानीय बासिन्दा भन्छन्, “अहिले नदीमा -याफ्टिङ्ग सञ्चालनको कार्य सहज रुपमा हुन थालेको छ । भारतीयले अवरोध गर्न छाडेका छन् ।”

परीक्षणपछि अहिले दुईदेशीय सीमा नदीमा कानूनी प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी अघि बढेको छ । “खल्ला, टुँडिखेल र मुसेट्टीका केही युवालाई -याफिट्ङ्गका लागि तालीम दिएका छौँ” भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले भन्नुभयो,“तालीम लिएर आएका युवालाई व्यावसायिक बनाउने योजनामा छौँ ।”

महाकाली नदीको बहुउपयोग नीतिअनुसार साहसिक जलयात्रा शुरु गर्ने योजना अघि सारिएको हो । त्यसका लागि भारत सरकारसित पनि समन्वय गरी छलफल अघि बढाइएको छ । खल्ला, टुँडिखेल र मुसेट्टीका वासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन साहसिक जलयात्रा सञ्चालनको प्रक्रिया अघि बढेको छ ।

साहसिक जलयात्रासँगै तीनै वस्तीमा होमस्टे(घरवास पर्यटन) सञ्चालन गर्ने लक्ष्य लिइएको छ । तीन वस्तीमा ५२ ढोके, साइलेन्ट रिभर र पुरानो सिद्धनाथ मन्दिरलगायतका धार्मिक पर्यटकीयस्थल रहेका छन् । -याफ्टिङ्गले पर्यटकीय स्थलको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology