• Saturday 25th of July 2026

परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी


  • गोकर्णेश्वर अनलाइन

बिहिवार बिहान ७ः०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुग्नुभयो । उहाँ परिक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बस्नुभएको थियो ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषय भएको हुँदा आफुले पढेका प्रश्न आउँलान् कि कस्ता खालका प्रश्न आउँलान्, सबै प्रश्नको उत्तर दिन सकिएला नसकिएला यस्तै–यस्तै मनभित्र करिब २० मिनेट कुरा खेलाउँदै विद्यालयको प्रवेशद्धार बाहिर बसिरहनुभयो । केहीबेरमा विद्यालयको प्रवेशद्धारमा शिक्षक आएर परीक्षा नहुने भन्ने जानकारी गराएपछि उहाँ निराश हुदै घर फर्कन बाध्य हुनुभयो ।

“पहिलो दिन अंग्रेजी विषयको परीक्षा अरु विषय भन्दा दुख हुने हुँदा तयारी राम्रै गरेर गरेको थिए, बिहानै घरबाट करिब आधा घण्टाको पैदल हिँडेर हतार–हतार विद्यालय पुगे, परीक्षा नहुने खबर पाउँदा दुख लाग्यो, परीक्षाका लागि धेरै समय खर्चेर तयारी गरेको थिए”, उहाँले निराश हुँदै भन्नुभयो ।

परिक्षा दिदा आफुलाई आवश्यक पर्ने सबै शैक्षिक सामग्रीका साथ सिर्जना रेग्मी पनि परिक्षा शुरु हुनु समयभन्दा आधा घण्टा अगावै विद्यालय पुग्नुभयो । अंग्रेजी विषय भएकाले तयारीका साथ परिक्षा दिन उत्साहित हुँदै उहाँ विद्यालमा परीक्षाको समय पर्खेर बसिरहनुभयो । केही समय पछाडी परिक्षा हुन्न भन्ने खबर पाएपछि भने निराश हुँदै घरतर्फ लाग्नुभयो ।

उहाँ भन्नुहुन्छ, “विद्यालय गएर पढ्न नपाए पनि घरमै बसेर तयारी राम्रै गरेको थिए, परीक्षा नै बन्द गरेर शिक्षक आन्दोलनमा उत्रदा हामी विद्यार्थीलाई असर प-यो, स्थगित भएको परीक्षा कहिले हुने हो टुङ्गो छैन, विद्यार्थीको पढ्ने मनस्थिती नै खलबलियो ।”
संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले कोरोनाविरुद्धको खोप नलगाउँदासम्मका लागि साउन १४ गतेदेखि जिल्लाभरका सबै शैक्षिक संस्थामा सञ्चालन भइरहेको सम्पूर्ण शैक्षिक गतिबिधि बन्द गर्ने निर्णय गरेपछि तय भएको कक्षा ११ को परस्क्षा पनि स्थगन भएको हो । कोरोनाविरुद्ध खोप लगाउन सम्बन्धित निकायले शिक्षकलाई उपेक्षा गरेको र राज्यले तोकेको उमेर समूह बाहेक सबै शिक्षकलाई खोप उपलब्ध नहुँदासम्म आन्दोलनमा उत्रने नेपाल शिक्षक महासङ्घका अध्यक्ष धनकला गाहाले बताउनुभयो ।

“पाल्पामा पाँच हजार ७३१ शिक्षकमध्ये केहीले सरकारले तोकेको उमेर समूहमा परी कोरोना खोप लगाइसकेको भए पनि करिब चार हजार शिक्षकलाई खोप तत्काल आवश्यक परेको छ, कोरोनाविरुद्धको खोप सबै शिक्षकलाई व्यवस्था नभएसम्म पाल्पाका सबै विद्यालयको शैक्षिक गबिबिधि बन्द रहनेछ”, उहाँले भन्नुभयो ।
संयुक्त संघर्ष समितिले शिक्षकले खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गरी जिल्लाभरका विद्यालयलाई पत्राचार गरिसकेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा प्याब्सन, एन प्याब्सनसहित विभिन्न दश शिक्षक सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाएर संघर्ष शुरु गरेका हुन्

आज शिक्षा समन्वय तथा एकाइ कार्यालयमा खोप उपलब्ध गराउन माग राख्दै शिक्षकले धर्ना दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको खोप शिक्षकलाई उपलब्ध गराउन ज्ञापन पत्र बुझाइएको थियो ।
परिक्षा दिन उत्साहका साथ विद्यालयमा आएका विद्यार्थीलाई परिक्षा नहुने जानकारी गराएर घर पठाइएको रामतुलसी मावि रामपुरका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ । विद्यालयमा कतिपयले परीक्षाको प्रवेश–पत्र बुझ्न बाँकी रहेका विद्यार्थीलाई दिएर घर फिर्ता गरिएको उहाँले बताउनुभयो । अनलाइनमार्फत सञ्चालन गरिएको पठनपाठन पनि अहिलेका लागि स्थगन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology