• Thursday 30th of July 2026

तनहुँका उद्योगमा लगानी बढ्यो


  • गोकर्णेश्वर अनलाइन

तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा दुई हजार एक उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार ६५९ लगानी भएको थियो । आव २०७६÷७७ भन्दा आव २०७७÷७८ मा उद्योग दर्ता सङ्ख्या घटे पनि लगानी भने वृद्धि भएको कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा जिल्लामा कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी दर्ता भएको छ । कृषि तथा वनजन्यतर्फ एक हजार २१९ उद्योग दर्ता भएका छन् । गत वर्ष कृषि तथा वनजन्यतर्फ ६०० मात्रै उद्योग दर्ता भएका थिए ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको उहाँले बताउनुभयो । “कोरोना कहरका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम शुरु गरेका छन्”, उहाँले भन्नुभयो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । यसैगरी उत्पादनमूलकतर्फ १२९, निर्माणतर्फ १९, पर्यटनतर्फ ३२३ र सेवामूलकतर्फ ३११ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २६ करोड १० लाख २६ हजार ३७४ रहेको छ ।

पाँच हजारलाई रोजगारी, ६६ लाख राजश्व सङ्कलन

दुई हजार एक उद्यमी बन्दा ती उद्योगले पाँच हजार ८१५ लाई रोजगारी दिएको छ । रोजगारी पाउनेमा दुई हजार ८३५ महिला र दुई हजार ९८० पुरुष छन् ।

यसैगरी कार्यालयले रु ६६ लाख ३१ हजार ७५० राजश्व सङ्कलन गरेको छ । उद्योग दर्तामार्फत रु ३७ लाख ७७ हजार ७००, पुँजीवृद्धिमार्फत रु सात लाख ८० हजार ५०० र अन्यमार्फत रु २० लाख ७३ हजार ५५० राजश्व सङ्कलन भएको छ । रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार १००, तीन लाखसम्म पूँजी भएको उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पूँजी भएको उद्योगले रु छ हजार १००, रु ५० लाखसम्म पूँजी भएको उद्योगले रु १२ हजार १००, रु एक करोडसम्म पूँजी भएको उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पूँजी भएको उद्योगले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार ११० दर्तावापत शुल्क बुझाउनुपर्छ ।

कार्यालयमा सोही अवधिमा ७२१ उद्योग नवीकरण, १३८ उद्योग नामसारी, ११ उद्योग ठाउँसारी र १२४ उद्योगले उद्देश्य थप गरेका छन् । ८५ उद्योगले लगत कट्टा, १४६ उद्योगले सुविधा सिफारिश, १८८ उद्योगले प्रतिलिपि र १४४ ले पूँजी वृद्धि गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology