• Saturday 25th of July 2026

दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छ : नेता थापा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।बुधबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताउनुभएको हो ।

नेता थापाले भन्नुभयो, “नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो । त्यो तागत फेरी दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ ।” त्यहाँ भारतीय सुरक्षा बलले तुइन काट्दा एक युवा नदीमा बेपत्ता भएका खबर सार्वजनिक भएको थियो।

अघिल्लो सरकारले संसदमा छलफल नगरी गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दैै उहाँले भन्नुभयो, “सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।”
फरक प्रसङ्गमा नेता थापाले कांग्रेसको महाधिवेशन संविधान र कानूनले दिएको समय र सीमाभित्र रहेरसम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्रको विवाद नसुल्झिए पुनः केन्द्रीय समितिमा ल्याउनुपर्ने आवश्यकता औल्याउँदै उहाँले विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक बोलाउन भनिएकामा बैठक नबोलाउने तर समय घर्किएपछि महाधिवेशन हुन सकेन भन्न नपाइने धारणा पनि व्यक्त गर्नुभयो ।
पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology