• Thursday 30th of July 2026

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।

कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६÷०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७÷०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ ।

विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसबाट प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम २०७७÷०७८ मा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण काममा अवरोध उत्पन्न भई सम्पन्न हुने चरणमा रहेका आयोजना पछाडि धकेलिन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड कहरको नराम्रो असर हवाई यातायात क्षेत्रले बेहोरेको छ । अन्तर्राष्ट्रियतर्फ अघिल्लो वर्षको तुलनामा ७३ दशमलव २७ प्रतिशतले हवाई यात्रु घटेका छन् । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु सङ्ख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो भने सन् २०२० मा यो सङ्ख्या ७३.२७ प्रतिशतले घट्न गई ११ लाख पाँच हजार ९२९ कायम हुन पुगेको छ ।

त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकामा सन् २०२० मा यो सङ्ख्या ५९.४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा उक्त वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएकामा कोभिडका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै हुन पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ नौ वायुसेवा र १० हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

नेपालमा विमानस्थलको कूल सङ्ख्या ५४ रहेको छ जसमा ३७ वटा विमानस्थलको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने १९ वटा विमानस्थल सञ्चालनमा छैनन् । हाल मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने योजनाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पुनःनिर्माण (रेनोभेसन) सम्बन्धी कार्य सम्पन्न भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology