• Thursday 30th of July 2026

फराकिलो बनाइँदै, बुलबुले ताल


  • गोकर्णेश्वर अनलाइन

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो ।

प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर्ष २०७६÷०७७ देखि बुलबुले क्षेत्रमा संरचना निर्माणको काम अघि बढाएको हो । ताल विस्तारका लागि हालसम्म रु दुई करोड खर्च भइसकेको छ । आयोजनामा प्राविधिक सहयोग गरिरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका इञ्जिनीयर गोर्कण थापाले १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको ताल बढाएर २८ हजार ५०० वर्गमिटर बनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार बुलबले क्षेत्र हुँदै बगिरहेको इत्राम खोलामा तटबन्ध निर्माण, पैदलमार्ग, ताल विस्तारको काम सम्पन्न भइसकेको छ भने यस वर्ष वनभोजस्थलतर्फ पुग्न खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ । विस्तार गरिएको तालमा पानी चुहिने समस्या भएकाले ताल पूर्णरुपमा भरिन पाएको छैन ।

“पानी लिकेज भएकाले ताल भरिन पाएको छैन, प्राविधिक त्रुटि के भयो भनेर अध्ययन गर्दैछौँ”, इञ्जिनीयर थापाले भन्नुभयो, “यस वर्ष पानीको लिकेज बन्द गर्नुका साथै १० वटा वनभोजस्थल, स्नान घर निर्माण गरिने छ, उद्यानलाई समेत व्यवस्थित बनाइनेछ ।” साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत ३०० पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ ।

विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । नगरप्रमुख देवकुमार सुवेदीले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व झन बढ्ने बताउँदै भन्नुभयो, “बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर हेर्न लायक बनाउँदैछौँ ।” उहाँले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिनुभयो ।

बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच÷पाँचवटा धारा छन् । ताल विस्तार सम्पन्न भइसकेपछि ¥याफ्टिङ सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology