• Monday 5th of October 2026

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री


  • गोकर्णेश्वर अनलाइन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।” औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।”

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “भूक्षयपछि आएको बाढी र त्यसले पु-याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री बेहोर्नुपरेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पु-याएको छ ।”

उहाँले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वृक्षरोपण गरिएका बिरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षरोपण गरी आफ्ना बस्तीलाई वातावरणमैत्री बनाउन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षरोपण गरिएका वृक्षको उचित संरक्षण गरिने आश्वासन दिँदै वातारणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षरोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षको संरक्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा इन्द्रायणी उद्यानमा चार दर्जनभन्दा बढी विभिन्न जातका वृक्ष रोपिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology