• Monday 5th of October 2026

वातावरणीय र जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक छ : मन्त्री भुसाल


  • गोकर्णेश्वर अनलाइन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वातावरणीय एवं जलवायु परिवर्तनका कारणको तथ्य पहिल्याएर समाधानको उपायसमेत खोजिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भुसालले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालयअन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै अनुसन्धानमा काम गर्नेहरू जागिरे मात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने बताउनुभयो ।

देशको तराई बेल्ट आर्थात् विशेष गरेर प्रदेश नं २ का नागरिकले धेरैभन्दा धेरै डुबानको समस्या लिएर आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तराईमा हुने डुबानको कारण पहाडको भूक्षय हो । पहाडको भूक्षयबारे अनुसन्धान गर्नुपर्छ, त्यसको अवसरबारे तथ्य प्रस्तुत गर्नुपर्छ ।”

मन्त्री भुसालले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नेतर्फ लाग्नुपर्नेमा जोडदिँदै कृषि, जलविद्युत् एवं पर्यटनजस्ता विकासका आधारभूत क्षेत्रलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार प्रविधि तथा जनशक्ति उपलब्ध गराउनका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै जलवायु परिवर्तनले ल्याएको विपत्तिका सन्दर्भमा ध्यान दिन पनि निर्देशन दिनुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले आफ्नो कार्य क्षेत्रमा केन्द्रित भएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताउँदै यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा महेश्वर श्रेष्ठले केन्द्रले गरेका अनुसन्धानका क्षेत्र र सोसँग सम्बन्धित जटिलताबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology