• Monday 27th of July 2026

बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले


  • गोकर्णेश्वर अनलाइन

भदौ २७ (रासस-एएफी) बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो। लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको सङ्क्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द रहेका छन् ।

पन्ध्र वर्षिय मुन्तासिर अहमदले एएफपीसँग कुरा गर्दै भने, “लामो समयपछि साथीहरू र शिक्षकहरूलाई प्रत्यक्ष देख्न पाउँदा औधी खुशी लागेको छ। ल्यापटपको स्क्रिनमा हेरिएका अनुहारहरूलाई प्रत्यक्ष भेट्न पाउँदाको छुट्टै रमाइलो छ।” विद्यालयका सहायक प्रधानाध्यापक देवान ताम्जिदुजामानले भने, “मैले विद्यालय खुलेको पहिलो दिनमै यत्रो सङ्ख्यामा विद्यार्थीको उपस्थितिको अपेक्षा गरेको थिइनँ।” दूरसञ्चार प्रदायक संस्थाको अनुसार बङ्गलादेशको कुल जनसङ्ख्याको ४१ प्रतिशतसँग मात्र स्मार्ट फोन छ। ग्रामीण क्षेत्रका प्रायः विद्यार्थी सँग गुणस्तरीय इन्टरनेट र स्मार्ट फोनको सुविधा छैन। युनिसेफका अनुसार अनलाइन कक्षा सञ्चालन हुँदा त्यसमा सबैको पहुच नहुनाले विद्यार्थीका बीचमा सिकाइमा विभेद देखिएको छ।

त्यसैगरी भारतका १४ वर्षदेखि १८ वर्ष उमेर समूहका ८० प्रतिशत विद्यार्थीले अनलाइनका माध्ययमबाट पढ्दा कम प्रभावकारी रहेको बताएका छन् । भारतको झारखण्डका किसान दीपु सिहले आफ्ना बच्चाहरू एक वर्षदेखि विद्यालय जान नपाएका र घरमा इन्टरनेटको सुविधा नभएकाले सिकाइबाट वञ्चित भएको बताएका छन् । युनिसेफको प्रतिवेदनले भारतका अन्य दुर्गम क्षेत्रमा पनि त्यस्तै रहेको जनाएको छ।

त्यस्तै पाकिस्तानको दुर्गम क्षेत्रका २३ प्रतिशत विद्यार्थी सँग इन्टरनेट र अन्य विद्युतीय उपकरणको उपलब्धता छैन। नेपालका केही शहरहरूमा भने इन्टरनेट नहुँदा रेडियोमार्फत पढाइ सञ्चालन गरिएको छ। नेपालको एक विद्यालयकी शिक्षिका रजनी के सी ले एएफपीलाई आफूहरू महामारीमा शैक्षिक सत्र सहजरूपले अगाडि बढाउन नसक्दा जटिल अवस्थामा रहेको बताएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology