• Wednesday 29th of July 2026

पसलअनुसार ग्याँसको फरक मूल्य


  • गोकर्णेश्वर अनलाइन

यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ ।

यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उहाँको आरोप छ ।

जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताउनुभयो ।

ग्यास बिक्रेताले फरक मूल्यमा ग्याँस बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारी लिने नगरेको अर्का स्थानीय मानबहादुर साउदले बताउनुभयो । दिपायल पिपल्लामा रेडिएण्ट ग्याँसका डिलर व्यापारी देवेन्द्र खड्काले ग्याँस कम्पनीले रु एक हजार ३१३.७५ मा दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको र पछि आफूबाट लिने गरेका कारण आफूहरुले सो रकम जोडेर ग्याँस बिक्री वितरण गर्न बाध्य भएको बताउनुभयो ।

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले आफूहरुले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको खड्काले स्वीकार गर्नुभयो । यस्तै यहाँका कालागाढ, सिलगढी, पिपल्ला तथा राजपुरमा रहेका ग्याँस बिक्री गर्ने सबडिलरमा पसलैपिच्छे सोही ग्याँसको रु एक हजार ६०० पर्ने गरेको उपभोक्ताको आरोप छ । आफूहरुले कैलालीका डिलरबाट ग्याँस ल्याउने गरेका कारण भाडालगायत, लोड, अनलोड तथा आफ्नो पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालक बताउँछन् ।

जिल्लामा खुलेआमरूपमा वर्षाँैदेखि यसरी ग्याँसको मूल्य पसलैपिच्छे फरक लिइने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले तोकेको रकमभन्दा बढी मूल्य लिएर ग्याँस बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताउनुभयो । ग्याँस डिलर तथा सबडिलरमा ग्याँसको मूल्यसूचीका विषयमा जानकारी दिन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology