• Saturday 25th of July 2026

म्याग्दीका हिमालमा आरोही आउन थाले


  • गोकर्णेश्वर अनलाइन

यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् ।

सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिनुभएका इन्द्रसिंह शेरचनले बताउनुभयो । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् ।

“बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्”, शेरचनले भन्नुभयो, “हिमालयन र डोल्मा टे«कमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।” जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट ट्रेकबाट आएकी माया शेर्पाले बताउनुभयो । उहाँसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ ।

“धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्”, उहाँले भन्नुभयो, “यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।” सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो ।

त्रियासी वर्षमा प्रबेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आउनुभएको छ । उहाँले गत यामसहित ११औँ पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गर्नुभएको थियो । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको थियो । चालीस जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर रु ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ ।

शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology