• Saturday 25th of July 2026

पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ ।

नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने निर्णय गरेको हो । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो ।
चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो ।

त्यसपछि क्रमागतरुपमा कक्षा ७ र ८ मा पनि पढाइ गरिनेछ । “कक्षा ६ देखि ८ सम्म एउटा विषय स्थानीय अथवा अन्य कुनै विषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो, “संस्कृत विषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेका हौँ ।”

संस्कृत विषयको पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा संस्कृत विषय पढाउनका लागि जनशक्ति अभाव नरहेको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशनसमेत दिइसकेको छ । पछिल्लो समयमा संस्कृत विषयको पढाइ नहुँदा भाषागत समस्यासमेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पु¥याउने नगरपालिकाले विश्वास गरेको छ ।

यता पाटनकै केही शिक्षकले संस्कृत विषय अहिलेको आवश्यकता नरहेको आँैल्याएका छन् । उनीहरुले युग सुहाउँदो विषय पढाउनुपर्नेमा जोड दिएका छन् । संस्कृत विषयले विद्यार्थीलाई नैतिकवान् बनाउन सहज हुने भए पनि युग सुहाउँदो व्यवसायीकरण, आधुनिक तथा विशिष्ट शैलीको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको भए उत्तम हुने पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माविका प्रधानाध्यापक तर्कराज भट्टले बताउनुभयो ।

संस्कृत विषयको सट्टा जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने भूमेश्वर मावि ठाँडका प्रधानाध्यापक वीरेन्द्र चन्दले बताउनुभयो । यसैबीच बैतडीका दुई वटामा विद्यालयमा माध्यमिक तहसम्म संस्कृत शिक्षाको पढाइ हुने गरेकामा हाल साधारणतर्फकै पढाइ हुने गरेको छ । स्थानीय तह बन्नुभन्दा पहिलादेखि नै बैतडीको शङ्कर संस्कृत मावि मूलखटाली र सरस्वती मावि नगतडीमा मात्रै संस्कृत शिक्षाको पढाइ हुने गरेको थियो । तर पछिल्लो समय यो शिक्षाका विषयमा कमजोर बुझाइ भएका कारण संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ । ती विद्यालयमा पनि संस्कृत पढ्ने विद्यार्थी छैनन् ।

संस्कृत भाषा, भाषाको जननी भएको भए पनि संस्कृत शिक्षाकाबारेमा गलत बुझाइले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको जानकार बताउँछन् । यो विषयलाई कुनै वर्ग विशेषले मात्रै पढ्नुपर्छ भन्ने मान्यताले पनि यसप्रतिको आकर्षण घट्दै गएको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ । संस्कृत शिक्षामा भएका सकारात्मक कुराको प्रचारप्रसार नहुनाले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ ।

“संस्कृत शिक्षाले नेपाली भाषाको पठन र लेखनमा समेत शुद्धता ल्याउने भए पनि संस्कृत शिक्षा पढ्नेको सङ्ख्या घटेसँगै शुद्धसँग नेपाली भाषाको पठन र लेखन गर्नसक्ने नागरिक पनि घट्दै गएका छन्”, उहाँले भन्नुभयो, “संस्कृत शिक्षामा नैतिकता र अनुशासनका पाठ भएकाले संस्कृत पढेका विद्यार्थी अन्यको तुलनामा सभ्य र शालिन हुने भए पनि पछिल्लो समयमा यो भाषाका विद्यार्थी कम हुँदै गएका छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology