• Monday 5th of October 2026

प्राकृतिक विपद्सँगै हरायो दसैँको खुसी


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम, ३ कात्तिक (रासस) : असोज महिना सकिनलाग्दा किसान वीरबहादुर चौधरी परिवारका अन्य सदस्यसहित खेतमा पाकेर झुलिसकेको धानबाली काट्ने चटारोमा हुनुहुन्थ्यो ।

घरमा वडादसैँ मनाउने तयारी सँगसँगै मनसुनी वर्षा सकिएको विश्वासमा उहाँले टीकाको अघिल्लो दिन देखिनै धान काट्न सुरु गर्नुभएको थियो । टीकाको दिन घर र छरछिमेकमा मान्यजनसँग टीका लगाइसेपछि काटेर सुकाइएको धान सम्याउन नपाउँदै भएको वर्षाले सबै धान डुवानमा परी क्षति पुग्यो । धनगढी उपमहानगरपालिका—१३ कैलाली गाउँका उहाँले दुःखेसो गर्नुभयो,‘‘बडासैंको खुसी डुवानले धानबालीमा पुगेको नोक्सानले हराएको छ ।’’

कैलाली गाउँपालिकाका किसान मानबहादुर चौधरीको घरमा बडादसँै माउन थारु परिकारका मीठा खानाका परिकार पकाइएको थियो । टीका लगाइसकेपछि मीठो मसिनो खाना खाएर परिवारका सदस्य खेतमा धानबाली काट्न व्यस्त हुनुभयो ।

टीकाको दोस्रो दिन राति भएको भीषण वर्षाले काटिएको सबै धान डुवानमा तैरिरहेको देख्दा नसोचेको घटना भएको अनुभव उहाँले सुनाउनुभयो । ‘‘मनसुनी वर्षा सकिँदा पनि नसोचेको वर्षा हुँदा सपनाजस्तै लाग्यो’’, मोहना नदीमा पानीको बहाव मापन गर्ने कामको समेत जिम्मा लिनुभएका (गेजरिडर)चौधरीले भन्नुभयो, ‘‘बिसनपुर गाउँमा मात्रै झण्डै २५ बिघा खेतको काटेको धानबाली मोहनाको बाढीले बगाएर क्षति पुर्याउदा ठूलो नोक्सनी भएको छ ।’’

आइतबार साँझमा अचानक दक्षिण–पूर्वी क्षेत्रबाट चलेको आँधी बेहरीले टिन कर्कटपाताले छाएका कैयौं घरका छाना उडाइ क्षति पु¥याउदासम्म किसानलाई ठूलो वर्षा हुने विश्वास लागेको थिएन । आँधीबेरीले खेतमा काटेर सुकाइएको धानबाली सम्याउँदै गरेका किसानलाई जाडो याम आउन लाग्दा चलेको ठूलो आँधीबेरीले त्रसित भने बनाएको थियो ।

राति ९ बजेसम्म हल्का वर्षा भइरहँदासम्म पनि किसान भने ठूलो वर्षा नहुने विश्वासमा थिए । वर्षा नरोकिएपछि धेरै किसान खेतमा थुपारिएको धानबाली त्रिपालले छोप्ने प्रयास पनि गरेका थिए । तर हावाहुरीले छोपिएको धानको त्रिपाल उडाउन थालेको र नकाटेको धानबाली ढल्न लाग्दा भने धेरै किसान अत्तालिएका थिए । सोमबार बिहान खेतमा तीन चार फिटसम्म जमेको पानीमा काटेर सुकाइएको बाली तैरिइरहेको दुश्यले किसानमा चिन्ता बढ्यो । बेमौसममा भएको यस्तो भीषण वर्षाले निम्त्याएको विपद् आफूले पहिलो पटक देखेको धनगढीका किसान हरि राना बताउनुहुन्छ । उहाँले दुःखेसो सुनाउनुभयो,‘‘धानखेती गर्दा लागेको लगानी पनि खेर गयो,अब के खाने भन्ने चिन्ता पनि थपियो ।’’

यस्तो पीडा यतिबेला कैलाली र कञ्चनपुरका किसानलाई बढी देखिएको छ । वर्षाका कारण धानखेत जलमग्न भएका छन् भने धेरै बस्ती डुवानमा परेका छन् ।
वर्षाले पु¥याएको क्षतिबारे मङ्गलबार स्थलगत अध्ययन गर्नुभएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले जिल्लामा ठूलो क्षेत्रफलको धानबाली वर्षाले नष्ट पारेको बताउनुभयो । ‘‘यसपाली धानबाली उत्पादन विगतको वर्ष भन्दा वृद्धि हुने अनुमान थियो”, उहाँले भन्नुभयो,‘‘खेतका फाँटमा थन्क्याइएको धानबाली पूरै डुवानमा परेको छ, नकाटेको धान हावाहुरीले ढाल्दा डुवानमा परेर क्षति पुगेको छ ।’’

सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टर जग्गामा बर्खे धानबालीको खेती हुने गरेको छ । पहाडी सात जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा बढी क्षेत्रफलको जग्गामा धानखेती हुने गरेको छ । हिँउले आलु खेतीका लागि केही दिनअघि मात्रै बारी खनजोत गरेर आलु रोपेका किसानको आलुको बीउ उम्रिन नपाउँदै डुवानका कारण सडेर नष्ट भएको छ । बालीमा पुगेको क्षतिको थप एकीन विवरण आउन बाँकी छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार,वर्षासँगै भएको बाढी, पहिरो डुवानमा परी प्रदेशमा बुधवार बिहानसम्म थप पाच जनाको मृत्यु भएको छ । यो समेत गरी प्रदेशमा आज बिहानसम्म जम्मा १५व्यक्तिको मृत्यु भएको छ । डोटीका ३६वर्षीय झुपरी सार्की, बैतडीका ७१वर्षीया पारुदेवि महरा, २५ वर्षका भानु पार्की, २१वर्षीय पवित्रा पार्की र तीन वर्षीय बालक देवन पार्कीको मृत्यु भएको छ । बझाङको थलरा गाउँपालिकामा गएको पहिरोमा परी २३ जना वेपत्ता भएका छन् । डोटीमा तीन, डडेलधुरमा दुई बैतडीमा दुई जना समेत सात जना घाइते हुनु भएको छ ।

नदीमा बगेर कैलाली र डोटीमा एक एक जना वेपत्ता छन् । कैलालीको कर्णाली नदीमा माछा मार्न गएका तीन जना सम्पर्कमा नआएको समेत प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठाउँ ठाउँमा गएको पहिरोका कारण प्रदेशका पहाडी क्षेत्रका धेरै सडकमा आवागमन अवरुद्ध भएको छ । इन्टरनेट सेवा समेत अवरुद्ध बनेको छ ।तराई क्षेत्रमा डुवान कटानको समस्या र पहाडमा पहिरो र नदी कटानको समस्या बढी देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology