• Saturday 25th of July 2026

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ ’


  • गोकर्णेश्वर अनलाइन

पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उहाँले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताउनुभयो । “अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।” उहाँले भन्नुभयो । गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उहाँको भनाइ छ । “गत वर्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ, तर त्यो रकमले उडानका अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो, त्यसैले अहिले छुटमा उडान गर्न सकेनौँ ।” उहाँले लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि नयाँ खरिद गर्नुपर्ने भएकाले पनि अहिले छुटमा उडान गर्न कम्पनी तयार नभएको बताउनुभयो ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैँको समयमा दैनिक करिब ४०० सम्म उडान भएको र अहिले दैनिक एक डेढ सय उडान भइरहेको जानकारी दिनुभयो । “साहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ ।” उहाँले भन्नुभयो । “गत वर्ष असोजमा पनि बन्दाबन्दि खुकुलो पछि प्याराग्लाइडिङ गर्ने सङ्ख्या निकै राम्रो थियो, कोरोनाको दोस्रो लहरले फेरि रोकियो, अहिले भने केही आशा जगाएको छ ।” पहारीले विशेष गरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताउनुभयो । उहाँसँग ७५ वर्ष सम्मकालाई उडाएको अनुभवसमेत छ । पहारीका अनुसार उडान गर्ने कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी रहेका छन् । सरकारी कर्मचारी भने अलि कम छन् । उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन् ।

दसैंको तिहारको समयलाई सदुपयोग गर्दै यहाँ घुम्न आउनुभएका हेटौँडाका सिजन र रमिता कोइरालाले पनि प्याराग्लाइडिङबाट पोखरा र आसपासका सुन्दर दृष्य अवलोकन गर्दा निकै आनन्द लागेको बताउनुभयो । “पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर सुन्दर हिमशृङ्खला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो, उडान पनि निकै रोमाञ्चक लाग्यो ।” सिजनले भन्नुभयो ।

यहाँ हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् यसमा १२ महिला छन् । यहाँ ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब रु एक अर्बको लगानीे छ । अहिले छ हजार शुल्कमा उडानको मजा लिन सकिन्छ । हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’लाई ध्यान दिएर उडान भइरहेको जानकारीदिनुभयो । विगतमा प्यारा पाइलटबाट भएका कमिकमजोरी र लापर्बाहीका कारण केही दुर्घटना भएका घटना सार्वजनिक भएसँगै अहिले उडानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “विगतमा एकाध घटनाले पोखराको आकाश असुरक्षित छ कि भन्ने आशंका जन्माएको थियो, तसर्थ पनि अहिले उडान सुरक्षालाई कडाइ गरेर पूर्ण सेक्युरिटीका साथ उडान गरिएको छ ।” प्यारापाइलट र यात्रु दुवैले उडानका नियमलाई पूर्णरुपमा पालना गर्नुपर्ने सञ्चालक तिवारीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology