• Saturday 25th of July 2026

प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन


  • गोकर्णेश्वर अनलाइन

झापा, ८ कात्तिक (रासस) : गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ ।

दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहनुभएका उहाँले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको यो पहिलो ‘कृषि होमस्टे’, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । प्रदेश नं १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा घरबास बनाएर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले बताउनुभयो दिनुभयो ।

पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो घरबास देशका विभिन्न सहकारीबाट यहाँको नमूनाखेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको उहाँले अध्यक्ष ओलीलाई जानकारी दिनुभएको थियो ।

कृषि र पर्यटनलाई लक्ष गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ । पाहुना घरमा आठ वटा सुुत्ने, सुविधा सम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष बनाइएको छ । विसं २०७० सालमा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाइएको छ ।

तीन वर्षअघि सरकारले मुलुकभरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रुपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा रु ६५ लाख, २०७६÷०७७ मा रु ४५ लाख र चालू आवमा रु ५० लाख गरी कूल रु एक करोड ६० लाख उपलब्ध गराएको अध्यक्ष चापागाईंले बताउनुभयो । प्राप्त रकममध्ये होमस्टे निर्माणमा रु एक करोड २० लाख खर्च भएको र बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारी बनाएको थियो । यी सम्पूर्ण संरचनाको उद्घाटन कार्यक्रममा पूर्वमहाधिन्याधिवक्ता अग्नि खरेल, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडालगायतको उपस्थिति थियो ।

अध्यक्ष ओली आजै जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भई बेलुका विराटनगर जानुहुने कार्यक्रम रहेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चिन्तन पाठकले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology