• Saturday 25th of July 2026

सङ्कटमा कुमालेको पेसा


  • गोकर्णेश्वर अनलाइन

आधुनिक झिलिमिली बिजुली बत्ती, धातुका दियो, भाँडाकुडालगायतका वस्तुका कारण तिहार र छठपर्वको लागि पुस्तौंदेखि महोत्तरीमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाले जातीको पेसा सङ्कटमा पर्दै गएको छ ।

दिपावली र छठको बेला बर्सेनि लाखौँको माटाका भाँडाकुडा र दियो बिक्री गर्ने गरेका कुमालेहरुले आधुनिक रुपमा बजारमा आएका तारले बनेको झिलिमिली बत्ती, प्लास्टिक र धातुका विभिन्न भाँडाकुडाले गर्दा माटोको भाडावर्तन र दियो (पाला)लगायतका सामग्रीको बिक्रीमा निक्कै कमी आएर आफूहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको जलेश्वर नगरपालिका–६ का कुमाले बिरजु पण्डितले बताउनुभयो ।

पहिला पहिला हिन्दूहरुको महान चाड दिपावली, तिहार, छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रुपमा माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया, कुरबारलगायतका सामग्रीको माग हुने गथ्र्यो । माटोकै भाँडाकुडा चोखो हुने गरेको भन्दै सबैले माटाकै भाँडाकुडा प्रयोग गरेको बेला आफूहरुलाई ती भाँडाकुडा पूर्ति गर्न भ्याइनभ्याइ हुने गरेको बताउछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लास्टिकका भाँडाकुडा तथा बिजुली बत्ती प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय धरासयी बनेको उहाँले बताउनुभयो ।

महोत्तरीको सदरमुकाम जलेश्वरसहित १५ वटै स्थानीय तहमा कुमाले जातीका मानिसले माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया र कुरबारलगायतका सामग्री बेच्ने गरेकोमा अहिले नगन्य मात्रामा ती सामग्री बिक्री हुने गरेको बढी महोत्तरी गाउँपालिका–११ कुमाले सियाराम पण्डितले बताउनुभयो ।

पहिला महोत्तरीको विभिन्न गाउँ–ठाउँमा बनाइएका माटाका भाँडाकुडा तराई–मधेशमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटाँैडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङगा, सितामढी र पटनासम्मसमेत निर्यात हुने गरेकोमा अहिले स्थानीय बजारमै पनि माग नभइदिँदा दिनानुदिन यस पेसामा लागेकाको पेसा धरापमा पर्दै गएको जलेश्वर नगरपालिका– १ का कुमाले जोगिया पण्डितले बताउनुभयो ।

अत्याधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडाकुडा, दियो, मटिया, कुसिया, कुरबारलगायतका सामग्री बिक्री नहुनु र बिक्री भए पनि लागेको लगानीसमेत नआउनुले यस पेशामा अब नयाँ पुस्ता बस्न नचाहेको जलेश्वर नपा– ६ का कुमाले मङगल पण्डितले बताउनुभयो । तर धेरैजसोले अहिले पनि आधुनिक भाँडाकुडा चोखो नहुने, यसमा व्रत तथा पर्व गर्दा शुद्ध नहुने मान्यता राखेकोले उनीहरु अझै पनि माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकोमा कुमाले जातिका बुढापाकाले जसोजतो ती सामग्री बनाएर उनीहरुको माग धानिरहेको अनुभव सुनाउनुहुन्छ जलेश्वर नगरपालिका– ८ की गृहणी रेणु मण्डल ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology