• Saturday 25th of July 2026

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह


  • गोकर्णेश्वर अनलाइन

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी उसले गरेका फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिनुभयो ।

आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गर्नुभयो ।

देशलाई वेथितिबाट पार लगाउन नेपाली काङ्ग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उहाँले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । “इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन आहत पारेको छ,” उहाँले भन्नुभयो ।

पटक–पटक पार्टीको १४ औँ महाधिवेशनको तिथि सारिएकामा रोष प्रकट गर्दै नेता सिंहले पछिल्लो समयमा घोषित मितिमा नै महाधिवेशन सम्पन्न गर्नैपर्नेमा जोड दिनुभयो । विधि र पद्धतिअनुसार पार्टी सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले ‘व्यक्ति होइन विचार’लाई मानेर अघि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।

इकाइ सभापति आशमान सङ्गतले तल्लो तहदेखि नै इमानदार नेतालाई नेतृत्वमा पु-याउनु समयको माग भएको विचार व्यक्त गर्दै पार्टीको छविमा आँच आउने गतिविधि नगर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि पार्टीपङ्ति एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology