• Saturday 25th of July 2026

चार वर्षदेखि अलपत्र बन्यो गोकर्णेश्वरमा सुनको छाना लेपन


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, २१ कात्तिक (रासस) : राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ ।

विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी सुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर रु तीन करोड बचेको थियो । झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमासमेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान सुरु भएको हो ।

प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरि सकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर दुई वर्षअघिदेखि अलपत्र छ । काम अघि बढ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका–४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ पहिले बजेट अभाव भएर काम रोकिएको स्वीकार गर्नुहुन्छ । अहिले बजेट व्यवस्थापन भए पनि जनशक्तिका कारण काम ढिलाइ भएको छ ।

“हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ, पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन नसकेर केही ढिलाइ भएको हो, अब बजेट व्यवस्थापन भएकाले काम हुन्छ”, उहाँले भन्नुभयो ।

अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि गत आर्थिक वर्षका लािग नगरपालिकाले रु तीन करोड विनियोजन गरे पनि काम हुन सकेन । नगरपालिकाले आर्थिक वर्ष २०७५÷२०७६ मा पनि रु एक करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६÷२०७७ मा विनियोजन गरेको रु तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउनुहुन्छ । महायज्ञकै क्रममा २२ तोला सुन सहयोगस्वरुप सङ्कलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर रु ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ ।

विसं २०७५ असार २२ गते नै झल्लर, कुटा, ख्वापालगायत मन्दिरका संरचना बनाउन सुरु गरिएको थियो । त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न नै सुरु भएको थियो । काम सुरु भएको चार वर्ष हुन लाग्दासमेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ । कोरोनाको महामारी सुरु भएदेखि राम्रोसँग काम अघि बढ्न सकेको छैन । केही दिन काम भए पनि फेरि रोकिने गरेको छ । कोरोनाकै कारण नगरपालिकाको बजेट नआउँदासमेत काम प्रभावित भएको हो ।

संवेदनशील काम भएकाले ढिलाइ : नगरप्रमुख चालिसे

नगरपालिकाका प्रमुख सन्तोष चालिसे भने बजेट अभावका कारण नभई तामाको पातामा सुनको लेप लगाउने काम संवेदनशील भएकाले ढिला भएको बताउनुहुन्छ । पाटनका कामदारले मात्र यो काम गर्ने भएकाले उनीहरुको समय नमिलेर पनि काममा ढिलाइ भएको उहाँको भनाइ छ । मन्दिर व्यवस्थापन समितिले रु एक करोड थप बजेट नगरपालिकासँग माग गरेकामा रु डेढ करोड दिएर छिटो काम सक्न निर्देशन दिएको छ ।

मूल सडकसँगै रहेको मन्दिरमा काम अलपत्र भएको देखिन्छ । मुख्य मन्दिरमा सुनको छाना, मूर्तिलगायत संरचना स्वर्णजडित बनाउने लहर नै चलेको देखिन्छ । गुह्येश्वरीको गर्भगृहमा रहेको अष्टदल र भैरवको मूर्ति सुनको बनाएर राखिएको १८ वर्षपछि करिब दुई किलो सुन गायब भएको समाचार गत वर्ष सार्वजनिक भएको थियो ।

पशुपतिनाथमा सुनको जलहरी राखेको विषय पनि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको छ । मन्दिर क्षेत्रमा सुनका संरचना बनाइए पनि त्यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology