• Monday 5th of October 2026

मङ्सिरमै डम्म हुस्सु


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, ९ मङ्सिर (रासस) : सामान्यतया पुस लागेपछि देखिने हुस्सु (कुहिरो )जिल्लाको दक्षिणी र मध्यक्षेत्रमा यसपालि मध्य मङ्सिरअघि नै लाग्न थालेको छ । जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन् । चिसो सिरेटो बहनसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासी बढेको छ ।

जिल्लाको सुदूर उत्तरी क्षेत्र (पूर्वपश्चिम राजमार्ग वारिपारि) एकाबिहानै पारिलो घाम लागे पनि मध्य र दक्षिणी क्षेत्रमा भने हुस्सु लाग्ने र चिसो सिरेटो बहन थालेपछि जाडो ह्वात्तै बढेको हो । धानबाली थन्क्याइ नसकिएको र हिउँदेबाली लगाउने धमाधमका बेला एक्कासी जाडो बढेपछि जिल्लाका बस्तीमा कृषिकार्य सुस्त भएको किसानले बताएका छन् ।

“खै मङ्सिर १५ अघि त यस्तो भोगिएको धेरै सम्झना छैन, यसपालि त डम्म धुनी (हुस्सु) लागेर काममै निस्कन नसकिने भइयो”, जिल्लाको मध्यवर्ती क्षेत्रको बलबा नगरपालिकाको धमौरा बस्तीका ७७ वर्षीय हासिम कवारीले भन्नुभयो, “धान अझै खेत र खलिहान (खलो)मा असरल्ल छ, गहुँ लगाउने धमाधमको बेला छ, काम नसर्ने छाँट देखायो ।” बाक्लो हुस्सुसँगैको चिसो सिरेटोले जाडो ह्वात्तै बढाएपछि कृषिकार्यमा लाग्ने जन (श्रमिक) घरबाट निस्कन नमान्दा काम नबढेको उहाँको भनाइ छ ।

जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा जमिनमा चिस्यान बढी भएको, पोखरी÷ताल बढी भएको र दक्षिणी समुद्रबाट नजिक भएको हुँदा यो भेगमा पहिले हुस्सुको प्रभाव देखिएको वातावरणविज्ञको भनाइ छ । वायुमण्डलको चापले चिस्यानबाट वाष्पीकरण बढ्दा र तल्लो भेगमा सामुद्रिक हावा पहिले आइपुग्ने भएको हुँदा यस्तो प्रभाव देखिएको वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्रको जमिन मध्य र दक्षिणी क्षेत्रको भन्दा रुखो भएको र सामुद्रिक हावा आइपुग्न ढिलो हुने हुँदा सो भेगमा हुस्सुको प्रभाव अलिपछि देखिने उहाँले बताउनुभयो ।

बूढापाका भने यसपालि चाँडै हुस्सु र जाडो बढ्नुलाई नयाँ साल (वर्ष) टेकेसँगैको अत्यधिक गर्मी र बर्खाकालमा परेको अत्यधिक पानीको प्रभाव ठान्दछन् । “यस वर्ष लागेसँगै गर्मी पनि अचाक्ली थियो, त्यसैगरी बर्खामा पानी पनि धेरै प¥यो, त्यसैको प्रभावले अहिले हुस्सु र जाडो पनि चाँडै सुरु भएको होे”, मटिहानी नगरपालिका–३ का वडाअध्यक्षसमेत रहनुभएका ७० वर्षीय लियाकत कवारीले भन्नुभयो । गर्मी र वर्षा अत्यधिक भएको वर्ष जाडो पनि चाँडै सुरु हुने र धेरै जाडो बढ्ने अनुभव विगतबाट पाएको कवारीको थप भनाइ छ ।

हुस्सु र जाडो बढेसँगै जिल्लाको तल्लो भेगका बस्तीमा एक्कासी बिरामी बढ्न थालेका छन् । श्वासप्रश्वासका बिरामीलाई कष्ट बढेको र खोकी, रुघा र हाडजोर्नी दुख्ने बेथा बढेको स्वास्थ्य संस्थाले जनाएका छन् । गरिब बस्तीका बूढापाका, स–साना बालबालिका र सुत्केरी महिलालाई स्वास्थ्य समस्या बढेको छ । जाडो बढेसँगै स्वास्थ्य कार्यालय महोत्तरीले घरआँगन सरसफाइ गर्न, सफा, ताजा र स्वच्छ खानेकुरा खान, न्यानो कपडा लगाउन र दाउरा बालेर रापिलो आगो ताप्न सल्लाह दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology