• Monday 5th of October 2026

मङ्सिरमै तराईमा लगलगी कमाउने जाडो


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, १२ मङ्सिर (रासस) : यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो निकै बढाएको छ । मध्य र दक्षिणी भेगमा त मङ्सिर दोस्रो साता लागेसँगै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि मध्य मङ्सिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका–५ पर्साका रामनारायण राउत जानकारीदिनुभयो ।

एक्कासी बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित छन् । मङ्सिर मध्यपूर्व नै यस्तो चिसो भएपछि यस भेगका बूढापाका पुस, माघ झन् कस्तो होला भन्दैछन् । “खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, भङ्गाहा नगरपालिका–४ रामनगरका ५९ वर्षीय किसान सत्यनारायण यादवले भन्नुभयो, “खै यो दुई वर्षदेखिको कोरोना त्रासले जाडो चाँडै बढाएको त हैन ?”

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो ता नि..! हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान्, हामी बनीबुतो गरेर गुजारा गर्नेको चाहिँ के हविगत हुने हो अब”, जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गर्नुभयो ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।

यसैबीच जिल्लाका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताउनुभयो ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयासका अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले क्षति हुन कम सकिन्छ ।”

मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।

यसैबीच जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट वर्षेनी हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology