• Saturday 25th of July 2026

निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ : मन्त्री भुसाल


  • गोकर्णेश्वर अनलाइन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वारस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुहिकरूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताउनुभयो । मन्त्री भुषालले भन्नुभयो, “ छ वर्षअघि भूकम्पले क्षति पु¥याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरुप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उहाँको भनाइ थियो ।

सङ्घका पूर्व अध्यक्ष कृष्णलाल महर्जनले आज बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म सो काम गर्न ललितपुरका जनताको सहभागिता रहने बताउनुभयो । मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का निर्देशक डा रोहित रञ्जितकारले झिँगटी छाउने काम अझै १०–१२ दिन लाग्ने बताउनुभयो ।

विसं २०७२ को गोरखा भूकम्प र पटकपटक आएको परकम्पका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर चिराचिरा परेको थियो । तीनतले मन्दिरको सबैभन्दा माथि गजुर हाल्ने अनि सोही तलामा सुन लेपन गरिएको तामाको पाता छाइएको र दोस्रो तलामा झिँगटी छाउनेसमेत सकिएकामा हाल बाँकी रहेको तलाको काम अघि बढाइएको हो ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले झिँगटीको काम सकेर मन्दिरको तोरण आदि सम्पूर्ण सरसफाइ पुसभित्र सम्पन्न गरिने जानकारी दिनुभयोे । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भइरहेको छ ।सो कामका लागि आज मन्दिरमा स्थानीय जनताका साथै विभिन्न जातीय समाज र विभिन्न सङ्घसंस्थाका व्यक्तिसमेत सहभागी थिए । विश्वसम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा उक्त मन्दिर छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology