• Saturday 25th of July 2026

सम्पदा पुनःनिर्माणमा बजेटको अभाव छैन -शाक्य


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पार्नुभएको छ ।

कामपा–१८ मा रहेको (देवघर)को खरु पूजा (मूल ढोकाको पूजा) गर्दै प्रमुख शाक्यले उक्त जानकारी गराउनुभएको हो । देवघरको पुनःनिर्माण भइरहेको छ । पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइराखेको उल्लेख गर्नुभयो ।

“एकको अभावमा अर्को अधुरो हुन्छ । त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त–अमूर्त) जोगिने गरी पुनःनिर्माणका लागि राज्यका तर्फबाट लगानी गर्नुपर्छ”, उहाँले भन्नुभयो । त्यसक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले देवघर पुनःनिर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिने बताउनुभयो ।

भवन निर्माणका लागि रु छ करोड लाग्ने अनुमान गरिएको छ । महानगरले यसका लागि गएको वर्ष रु एक करोड र चालु आर्थिक वर्षका लागि रु एक करोड छुट्याएको छ । किस्ता–किस्तामा गरी कामपाबाट रु एक करोड २८ लाख ५८ हजार प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताउनुभयो । देवी नाचमा सात जना देवगण हुने भएकाले भवनलाई साततले बनाइने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology