• Saturday 25th of July 2026

तरकारी खेतीमा भविष्य बुन्दै पडावका किसान


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुर, १९ माघ (रासस) : बेलौरी नगरपालिका– ३ पडावका धम्मल चौधरी हिजोआज तरकारी खेती हेरचाहमा बिताउनुहुन्छ । तरकारीका विरुवा गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने, घरमै तयार गरिएको जैविक विषादी छर्कने र तयार भएको तरकारी टिप्ने र बिक्री गर्ने कार्यमै दिन बितेको उहाँलाई पत्तो नै हँुदैन ।

“तरकारी खेतीमै दिन बित्ने गरेको छ,” उहाँले भन्नुभयो, “यसमै भविष्यका सपना बुन्न थालेको छु । यसबाटै मनग्य आम्दानी हुन थालेकाले अर्को व्यवसाय गर्नेबारे सोचेको समेत छैन ।” तरकारी खेतीमा उहाँसँगै उहाँको परिवारले समेत सहयोग पु¥याउँदै आएको छ । बाह्रै महिना तरकारी खेती गर्ने चौधरी यस क्षेत्रकै अग्रणी किसानका रुपमा परिचित रहनुभएको छ ।

उहाँले दुई बिघा जग्गामा खेती गर्नुभएको छ । खेती गरिएका पूरै जग्गा भने उहाँको स्वामित्वको होइन । खेतीबाट आएको आम्दानीबाट खरिद गरिएको १० कट्ठा र पुनः स्थापन हुँदा पाइएको दुई कट्ठा जग्गा मात्रै उहाँको स्वामित्वमा छ । बाँकी डेढ बिघा जग्गा वार्षिक रुपमा भाडा तिर्ने गरी लिनुभएको छ । पाँच वर्षदेखि निरन्तर रुपमा किसान चौधरीले तरकारी खेतीलाई व्यावसायिक रुपमा गर्दै आउनुभएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तत्कालीन पिपलाडी गाउँपालिकाको पडावबाट हटाइएपछि बेलौरीमा पुनः स्थापन गरिँदा उहाँको परिवारलाई तीन दशकअघि १० कट्ठा जग्गा उपलब्ध गराइएको थियो ।

उपलब्ध गराइएको जग्गामा पाँच भाइले भागबन्डा गर्दा उहाँका हिस्सामा दुई कट्ठा जग्गा मात्रै परेको थियो । हिस्सामा पाइएका जग्गामा एकव कच्ची घर, शौचालय, खानेपानीको हेन्डप गाड्दा एक कट्ठा जग्गा पूरै ओगटियो । बाँकी रहेको एक कट्ठा जग्गामा उहाँले घरमै खानका लागि थोरै तरकारीका बिरुवा ल्याएर रोप्ने कार्य गर्दै आउनुभएको थियो ।

“तीन वर्षअघि खानकै लगाइएको गोलभेँडा अधिक उत्पादन भयो,” उहाँले भन्नुभयो, “बजारमा लगेर बिक्री गरे । केही रकम हात लाग्यो । यसपछि व्यावसायिक रुपमा तरकारी खेती गरे आम्दानी लिन सकिन्छ भन्ने सोच आयो । यसका गर्नका लागि जग्गा थिएन । मजदुरी गरेर कमाएको केही रकम थियो । यही रकम खर्चेर छिमेकीको जग्गा भाडामा लिने निधो गरे ।”

दस कट्ठा जग्गा लिजमा लिएपछि गोलभेँडा, काउली, करेला, काँक्रा लगायतको मौसम अनुसारको तरकारी खेती गरेपछि गतिलो आम्दानी हात लागेपछि दुई वर्षमै १० कट्ठा जग्गा खरिद गरेको उहाँको भनाइ छ ।

यसपछि तरकारी खेतीका लागि नगरपालिकाकै कृषि विकास शाखा र गैरसरकारी संस्थाबाट तालिम लिएर दक्ष बनेपछि व्यावसायिक रुपमा खेती गर्दै आएको किसान चौधरीले बताउनुभयो । “दस कट्ठा जग्गामै गत वर्ष मात्रै गोलभेँडा तरकारी खेती गरेपछि रु चार लाख आम्दानी भयो । लिजमा लिएको एक बिघा जग्गामा काउली, बन्दा, खुर्सानी, लौका, करेला, काँक्रा, हरियो साग लगायतको तरकारी खेती गरी रु सात लाख गरी रु १० लाख आम्दानी भयो,” उहाँले भन्नुभयो, “यस वर्ष गोलभेँडा मात्रै ७० क्विन्टल बिक्री भइसकेको छ । जसबाट रु दुई लाख ८० हजार आम्दानी भएको छ । अझै खेतबारीमा १५० क्विन्टल गोलभेँडा बेच्न बाँकी रहेको छ ।”

“काउली, बन्दा, खुर्सानी बेच्नका लागि तयारी अवस्थामा छ । केही बिक्री गरिसकेका छौँ । केही बिक्री गर्न बाँकी छ । जसबाट रु १५ लाख जति आम्दानी हुन्छ,” उहाँ भन्नुहुन्छ, “गत वर्षको भन्दा एक बिघा बढी जग्गा थपेको छु । जग्गा थपेसँगै आम्दानीसमेत बढ्छ । गत वर्षको तुलनामा यस वर्ष तरकारीको दररेटसमेत राम्रो छ ।”

तरकारी खेती गर्दा तीन लाखदेखि चार लाख जति खर्च लाग्ने गरेकामा खर्चको तुलनामा आम्दानी चार गुणा बढी हुने गरेको उहाँको अनुभव छ । धान र गहुँ घरका लागि खान पुग्ने गरी चारदेखि पाँच कट्ठामा लगाउने गरेका उहाँले सो खेती भने बाह्रै महिना गर्दै आएका छन् ।

मौसमी र बेमौसमी तरकारी खेती गरी उहाँले यस क्षेत्रकै बढी आम्दानी गर्नेमा चिनिन्छन् । “भविष्यको योजना व्यावसायिक खेतीलाई नै निरन्तरता दिने हो,” उहाँले भन्नुभयो, “पक्की घर निर्माण गरी छोराछोरीलाई उच्च शिक्षा पढाउने धोको छ । घरमै बसी बसी गतिलो आम्दानी हुने गरेकाले अरू कार्य गर्नका लागि अहिलेसम्म सोचेको छैन ।” उहाँको चारजनाको परिवारको छ । यसमा दुई दम्पती र दुई छोराछोरी छन् । विगतमा घरबासका लागि जग्गा मात्रै भएका किसान चौधरीले व्यावसायिक तरकारी खेती गरी थोरै समयमा धेरै आम्दानी गरेको देखेपछि गाउँका अन्य ३० किसानले समेत तरकारी खेती गर्न थालेका छन् ।

“पडाव गाउँमा पहिला धम्मल नै तरकारी खेती गर्ने एक्ला किसान हुन्,” बेलौरी नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक हरिश सेटीले भन्नुभयो, “चौधरीले तरकारी खेतीबाट गरेको प्रगतिबाट प्रभावित भएर धेरै किसान तरकारी खेतीमा संलग्न भएका छन् ।”

हाल पडाव गाउँ तरकारी खेती हुने क्षेत्रका रुपमा परिचित रहेको छ । तरकारी खेतीमा संलग्न किसानले व्यापारीलाई फोन गरी घरमै बोलाएर तरकारी बिक्री गर्दै आएका छन् । व्यापारी घरमै पुगेर उत्पादित बस्तु लग्ने भएकाले किसानले बजार खोज्दै जानुपर्ने अवस्थासमेत नरहेको प्राविधिक सेटीको भनाइ छ ।

तरकारी खेतीमा संलग्न किसानलाई कृषि विकास शाखाबाट प्राविधिक सहयोगसँगै बीउ, प्लास्टिक टनेल, स्प्रे, कृषि औजार र मेसिनमा अनुदान सहयोगसमेत उपलब्ध गराउन थालिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology