• Saturday 25th of July 2026

भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने, बोर्डद्वारा तालिका सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

भक्तपुर, २७ माघ (रासस) : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।

वैशाख ११ गते आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । वैशाख १३ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । वैशाख १४ गते अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इञ्जिनीयरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

यसैगरी वैशाख १५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनीयरिङ सर्भेइङको परीक्षा हुनेछ ।

त्यस्तै वैशाख १६ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ भने वैशाख १७ गते शनिवार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

वैशाख १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एण्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनीयरिङको परीक्षा हुनेछ । वैशाख १९ गते प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ ।

अन्तिम दिन वैशाख २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इन्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, सङ्गीत, वाद्यबादन र नृत्यको परीक्षा हुने भएको छ ।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षाको तालिका भने बोर्डले भोलि बिहान सार्वजनिक गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलोगरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology