• Saturday 25th of July 2026

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उहाँले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसक्नुभएका उहाँले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत सो सम्मान अर्पण गर्न लागिएको हो । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

प्रदेशको सबैभन्दा ठूलो विभूषणका रूपमा ‘गण्डकी रत्न’ लाई लिइन्छ । प्रदेश सरकारको स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार उहाँलाई सो सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।

“पुनले विज्ञान र प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले उहाँलाई नै यस वर्षको गण्डकी रत्न दिने निर्णय गरेको हो,” सरकारका प्रवक्ता खड्काले भन्नुभयो “प्रत्येक वर्ष तीन जनालाई गण्डकी रत्नबाट विभूषित गर्ने भनिएको भए पनि यो पहिलो वर्षमा एक जनालाई मात्रै विभूषित गरिएको छ।”

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गत माघ चार गते सूचना जारी गर्दै सम्मानको दाबी गर्नेहरूबाट आवेदनको आह्वान गरेको थियो । यस क्रममा भाषा, साहित्य, खेलकूद, पर्यटन, समाज सेवा, संस्कृति, उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका आठले आवेदन दिएका थिए । उनीहरू कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई÷दुई तथा लमजुङका एक थिए । ‘गण्डकी रत्न’ पाउने व्यक्तित्वलाई गण्डकी प्रदेशमा आयोजना हुने सभा समारोहमा प्रदेशसभा सदस्य सरहको मान्यता र सुविधा दिने व्यवस्था छ ।

पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान र प्रविधिको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सन् १९९५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिनुभएका पुन सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गर्नुभएको हो । उहाँले स्नातकोत्तर पूरा गरेपछि २४ वर्षपछि जन्म गाउँ फर्किएर कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी आफ्ना योजना अगाडि बढाउनुभएको थियो ।

पछि सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology