• Saturday 25th of July 2026

राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तर बनाउनुपर्छ : मन्त्री आले


  • गोकर्णेश्वर अनलाइन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) स्तरको सङ्ग्रहालय बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सङ्ग्रहालयको ८३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पर्यटन प्रवद्र्धन, सांस्कृतिक सभ्यता तथा पुराना मानव इतिहासको जगेर्ना गर्न निर्माण गरिएको राष्ट्रिय सङ्ग्रहालयलाई स्तरोन्नति गर्नुपर्ने बताउनु भएको हो । मन्त्री आलेले भन्नुभयो, “नेपालको विविध पक्षको ज्ञान हासिल गर्न एउटै थलोका रूपमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई अझै बढी प्रचारप्रसार गरी देशको एउटा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ ।”

यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्वदेशी तथा विदेशी सङ्ग्रहालयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्रहालयको ज्ञान सीप तथा कलाहरू आदानप्रदान गर्नसके नेपालको कला, पहिचान स्थापित हुनुका साथै सङ्ग्रहालय नेपालको पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बताउनुभयो ।

राष्ट्रिय सङ्ग्रहालयको वार्षिक बजेट रु तीन करोड भएकाले अबको बजेटमा राष्ट्रिय सङ्ग्रहालयको बजेट पनि थप गरिनेसमेत जानकारी गराउनुभयो । यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयमा देश विदेशबाट पनि अवलोकनका लागि नागरिकहरू आउने भएकाले उक्त क्षेत्रमा सरसफाइदेखि फूलहरु रोपेर सुन्दर बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सङ्ग्रहालयको भौतिक संरचनादेखि अन्य निर्माणका काम गर्नका लागि आवश्यक पर्ने रु २५ करोड बजेट माग गर्नुस्, बजेटको व्यवस्था म मिलाउँछु ।” नेपालका प्रथम प्रधानमन्त्री जनरल भीमसेन थापाले विसं १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार जम्मा गरिएकाले सुरुमा यस सङ्ग्रहालाई सिलखाना भनिएको र युरोपेली वास्तु सैलीमा निर्माण गरिएको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

राष्ट्रको संस्कृति, पुरातात्विक, धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रदर्शनमा राष्ट्रिय सङ्ग्रहालयको भूमिका निकै महत्वपूर्ण रहेकाले पनि यस सङ्ग्रहालयको थप विकास र विस्तार गर्न आवश्यक रहेकोसमेत मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको कला, संस्कृतिको संरक्षण गर्ने सङ्ग्रहालयलाई सबै मिलेर देश विदेशमा चिनाउन लागी परौँ ।” त्यस अवसरमा मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयको कला, सम्पदा नेपाली र अङ्ग्रेजी भाग ५ को पुस्तकसमेत विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology