• Saturday 25th of July 2026

न्यायिक समितिका माध्यमबाट न्यायमा पहुँच पुगेको छ : प्रदेश प्रमुख गुरुङ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले न्यायिक समितिमार्फत सर्वसाधारणमा न्यायको पहँुच पुगेको बताउनुभएको छ । पोखरा महानगरपालिकाद्वारा आज पोखरामा आयोजित न्यायिक समितिको सम्मेलनमा उहाँले जनताको नजिक रहेर स्थानीय सरकारको न्यायिक उपस्थिति जनाउने र न्याय निरुपण तथा मेलमिलाप गराउने उद्देश्यका साथ स्थापित समितिका माध्यमबाट मुद्दा मामिला गर्न नसक्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको न्यायमा पहुँच बढेको बताउनुभयो ।

नेपालमा सङ्घीय शासनको सुरुवातसँगै स्थानीय तहमा न्यायपालिकाको स्वरुपमा स्थानीय न्यायिक समिति गठन र क्रियाशील भएको बताउँदै उहाँले मुलुक सङ्घीय संरचनामा गएपछि सिंहदरबारमा मात्र सीमित भएको अधिकारलाई गाउँगाउँसम्म पु¥याउन स्थानीय निकायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले न्यायिक समितिमा रहने व्यक्तिको निष्पक्ष निर्णयले नै न्यायिक निर्णयमा जीत जीतको अवस्था सुनिश्चित भई न्यायप्रतिको सन्तुष्टि अभिवृद्धि हुने र यस प्रतिको आम नागरिकको भरोसा अझै बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

आम जनतामा सुरु चरणको र कम झमेलामा न्याय दिलाउने कुरा रहेको र जनस्तरसम्म जानकारी पु¥याएर आफ्ना समस्यालाई समितिमा ल्याउने वातावरणसमेत तयार गर्नुपर्ने दायित्व समितिमा रहेको बताउँदै उहाँले बिना पूर्वाग्रह निष्पक्ष निर्णय गर्ने दिशामा सधैंँ दत्तचित्त भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

सीमित साधन र स्रोतका बाबजुत न्यायिक समितिमार्फत हुने न्यायिक निर्णयका धेरै सकारात्मक पक्ष भए पनि त्यसमा रहने व्यक्तिमा न्याय प्रणालीबारे विषयगत जानकारीको अभावले गर्दा समस्या उत्पन्न हुने गरेको गुनासोसमेत आउने गरेको उहाँले बताउनुभयो ।

“विषयगत जानकारी नभएका व्यक्तिबाट न्याय सम्पादन हुँदा एकातर्फ निष्पक्ष न्याय सम्पादन नहुने खतरा हुन्छ भने अर्कातर्फ गलत निर्णय हुँदा जनतामा यसप्रतिको भरोसासमेत कम हुन जान्छ”, उहाँले भन्नुभयो, “समितिका विषयमा उठेका गुनासोलाई आत्मसाथ गर्दै समितिका सदस्यलाई विषयगत रुपमा सक्षम र सबल बनाउन आवश्यक तालिम दिन जरुरी देखिन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology