• Saturday 25th of July 2026

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित


  • गोकर्णेश्वर अनलाइन

सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ ।

कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन् । विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले आइतबार पनि बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।

पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटन व्यवसायी विप्लव पौडेल दुई दिन बिदाको माग आफूहरुको भएको बताउनुहुन्छ । पोखरा र चितवनको मेघौलीमा रहेको होटल बाराहीका सञ्चालक पौडेलले यो बिदाबाट होमस्टे (घरबास)देखि ठूला होटलसम्म पर्यटक बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले आर्थिक क्षेत्र चलायमान बनाउँछ ।”

दुई दिन घुमफिर र रमाइलो गरेपछि पाँच दिन गर्ने काम जोश, जाँगर भरिएर थप राम्रो हुने पौडेलको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेको बताउनुहुन्छ । आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ ।”

कोभिडका कारण थलिएको पर्यटन क्षेत्र दुई दिन बिदासँगै पहिलेको भन्दा राम्रो हुने आफ्नो अनुमान रहेको भट्टराईले बताउनुभयो । बिदा हुन थालेसँगै लक्षण सकारात्मक देखिएको उहाँले जानकारी दिनुभयो । पारिवारिक घुमफिर यो बिदाले बढाउने अपेक्षा व्यवसायीको छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया टेलिफोनबाट बुझ्ने र बुकिङ गर्ने क्रम बढ्न थालेको बताउनुहुन्छ । देशको मध्यभागमा रहेकाले सौराहामा एक रात बिताउन छिमेकी धेरै जिल्लाबाट आउन सहज छ । एक रातको बसाइमा यहाँका महत्वपूर्ण गतिविधिमा सहभागी हुनसक्ने भएकाले केही हप्तापछि नै राम्रो नतिजा आउने थपलियाले बताउनुभयो ।

विदेशी पर्यटकको सङ्ख्या घटेसँगै यहाँको पर्यटन क्षेत्र आन्तरिकले धानेको छ । मुख्यरूपमा नेपालमा पोखरा, लुम्बिनी, चितवन, काठमाडौँलगायतका क्षेत्रमा पर्यटक धेरै पुग्ने गर्दछन् । आइतबार हुने बिदामा यी क्षेत्रमा पर्यटकको चाप बढ्ने व्यवसायीको अनुमान छ ।

होटल नारायणी रिसोर्ट गैंडाकोट निर्देशक वसन्त पराजुली दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बिदामा परिवारसहित घुम्ने प्रचलन बढ्छ ।” विगतको सार्वजनिक र लामो बिदामा आन्तरिक पर्यटकले होटल भरिने गरेको उहाँको अनुभव छ ।

पर्यटनविद् डा विश्व सुवेदी दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घुम्न हिँड्नका लागि समय मिल्छ । एक दिन घरको काम र अर्काे दिन घुम्ने हिँड्न पुग्छ ।” यसले नजिकका पर्यटन क्षेत्रमा घुम्न जान सहज हुने उहाँको भनाइ छ । कोरोनाका कारण घरमै बसेकाहरू घुम्न चाहिरहेको बेला बिदा पाउँदा यसले पर्यटन क्षेत्र थप चलायमान बनाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology