• Friday 24th of July 2026

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ झँुगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा उहाँले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताउनुभयो ।

विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गर्नुभएको थियो । सो समारोहमा सम्बोधनका क्रममा उहाँले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताउनुभयो ।

तराई–मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उहाँको भनाइ छ । चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न उहाँले आह्वान गर्नुभयो ।

तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररुपमा बाँच्न दिनु पर्ने उहाँको भनाइ थियो । प्रकृति स्वच्छ भएमात्र मानव जीवन स्वच्छ हुने भन्दै उहाँले भन्नुभयो, “हामीले प्रकृतिलाई संरक्षण ग¥र्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ भन्ने तथ्यलाई कसैले पनि विर्सन हुँदैन ।”

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ, भौतिक पूर्वाधार विकासका क्रममा सहरीकरण दिन प्रतिदिन बढ्दो छ, यस प्रक्रियाले चुरे क्षेत्रको पारिस्थितीकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितीकीय प्रणालीलाई पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्ने बेला आएको बताउनुभयो ।

वृक्षरोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण एवं पानीको स्रोत वृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

वृक्षरोपण गरेर मात्र नभएर रोपेका बिरुवाको स्याहार र संरक्षण गर्न उत्तिकै महत्वपूर्ण रहेको रहेको बताउँदै उहाँले बिरुवा हुर्केर उत्पादन भएका वस्तु, सेवाबाट स्थानीय समुदायले लाभ प्राप्त नगरेसम्म निरन्तर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसका लागि राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, नेपाली सेना, दुधौली नगरपालिका, विशाल सामुदायिक वन उपभोक्ता समिति सबैको उहाँले ध्यानाकर्षण गराउनुभयो । साथै सिन्धुलीको कमला नदी प्रणालीलाई आगामी पाँच वर्षभित्रमा नमूना नदी प्रणालीका रुपमा व्यवस्थापन गर्ने गरी गुरुयोजनामा समेट्न राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा पर्यावरण महानिर्देशनालयलाई उहाँले ध्यानाकर्षण गराउनुभयो ।

वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, सांसद गणेश पहाडी, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा विशाल सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा वर, पीपल, आँप, कटहर जातका १६ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology