• Saturday 25th of July 2026

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित


  • गोकर्णेश्वर अनलाइन

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय तीर्थालु बोकेर गत मङ्गलबार हिँडेको सो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको थियो ।

रेलमा आएका भारतीय पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका पर्यटनमन्त्री सत्रुधन महतो लगायतले जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुगेर स्वागत गर्नुभएको थियो । एकैपटक यति सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा व्यापार व्यवसाय बढेको भन्दै व्यापारी उत्साहित बनेका हुन् । “भारतीय पर्यटकको आवागमनले हिजो एकैदिन जनकपुरधामको व्यापार व्यवसायी ह्वात्तै बढ्यो”, जनकपुरधामका होटल व्यवसायी श्याम साहले भन्नुभयो, “बजारमा भिडभाड बढेको छ, जसका कारण व्यापार व्यवसाय बढेको छ, हामी असाध्यै उत्साहित छौँ ।”

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलमा भारतीय पर्यटकको आगमनले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र आर्थिक विकासले गति लिने उद्योग वाणिज्य सङ्घ धनुषाका अध्यक्ष जीतेन्द्र महासेठले बताउनुभयो ।

“धार्मिक, सांस्कृतिक र ऐतिहासिक जनकपुर नगरीमा पहिलेदेखि भारतीय पर्यटक आउने गरेका छन्”, अध्यक्ष महासेठले भन्नुभयो, “तर यसरी एकैपटक यति सङ्ख्यामा भारतीय पर्यटक आउनु आफैँमा जनकपुरधामका लागि महत्वपूर्ण कुरा हो ।” यसबाट यहाँको आर्थिक विकास र पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने उहाँको विश्वास छ ।

भगवान् रामको ससुराली र माता सीताको माइती जनकपुरधामको भ्रमण गर्न पाएकामा भारतीय पर्यटकसमेत उत्साहित बनेका छन् । भारतीय पर्यटक आज बिहानैदेखि जनकपुरधामसहित धनुषास्थित विभिन्न धार्मिकस्थलमा पूजापाठ गरिरहेका छन् ।

जनकपुर आएपछि विभिन्न होटल तथा धर्मशालामा बसेका भारतीय पर्यटक बिहानैदेखि जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, शिव मन्दिर, जनक मन्दिर, सङ्कटमोचन मन्दिरलगायत धार्मिकस्थलमा पूजापाठ गरिरहेका छन् ।

यस्तै भारतीय पर्यटक आजै धनुषाको धनुषाधामस्थित पवित्र तीर्थस्थलमा पुगेर पूजापाठ गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो ।

पर्यटकका लागि भारतीय राजदूतावासले सवारीसाधनको व्यस्थापन मिलाएको छ । भारतीय पर्यटकको स्वागत र सम्मानका लागि जानकी मन्दिर परिसरमा गएराति धार्मिक सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको थियो ।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्को देखिन्छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित ‘स्टैच्यू अफ युनिटी’, दिल्लीमा रहेको नेसनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology