• Friday 24th of July 2026

भक्तपुरमा‘जुजु धौँ दहीको माग उच्च


  • गोकर्णेश्वर अनलाइन

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दहीको माग अत्यधिक छ, मंगलबारदेखि नै बिक्री ह्वात्तै बढेको छ । अहिले बिहानैदेखि पसलमा दही लिन आउने सङ्ख्या अत्यधिक छ । माग भएको ठाउँमा पनि पु-याउनै प-यो ।”

दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भए अनुसारको दही बनाउन नसकिएको उहाँ बताउनुभयो । भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा नाम सुन्दै सबैले मुख रसाउने गर्छ । जिल्लामा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट यहाँ दही लिन आउने पनि धेरै हुन्छन् । कतिपय पसलमा १ बजेपछि दही पाइँदैन । माटोको भाँडो अर्थात् कतारो, भिउट र कपमा बनाइने दही स्वादिलो हुने गर्छ ।

सगुन जुजु धौका सञ्चालक सगुन सैजुले जिल्ला ग्रामीण क्षेत्र ताथली, बागेश्वरी, सुडाल, नगरकोटलगायतका किसान र डेरीबाट ल्याएको गाई तथा भैँसीको दूध ल्याउने बताउनुभयो । उहाँले दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएपछि त्यसमा चिनी, मसला हालेर माटोको भाँडोमा भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोको भाडो र त्यसमाथि जुटको बोराले छोपेपछि तीनदेखि चार घण्टामै दही तयार हुने जानकारी दिनुभयो ।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहने जनाउँदै उहाँले दहीको माग धेरै आएपछि सबैको माग लिन नसकिएको बताउनुभयो ।

जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायतका फरक–फरक दहीको मूल्य पनि फरक–फरक पर्ने गरेको छ । अहिलेका कयौँ व्यावसायीले भने जुजु धौकै नाममा फ्रिजमा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएका राम सैजुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जुजु धौ दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन । अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने, फ्रिजमा दही जमाउने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन ।”

परम्परागत शैलीलाई भुलेर अहिले मानिसहरूले आधुनिक शैलीमा डेरी तथा पाउडर दूधलाई फ्रिजिङ गरेर जमाएको दहीलाई समेत जुजु धौ नाम दिएकाले दहीको गुणस्तरमा ह्रास आएको जुजु धौ कै बदनाम भइरहेको व्यवसायीको गुनासो छ ।

“जुजु धौ भक्तपुरको पहिचान हो, तर अहिले यस्तो दही पाउन पुराना व्यवसायी खोज्दै गएर माग दिनुपर्ने हुन्छ”, दही व्यवसाय गर्दै आएका सूर्यमढीका कृष्ण सैँजु भन्नुभयो, “दही धेरै प्रकारका हुन्छन्, कुराउनीजस्तो दही पनि भक्तपुरमै पाइन्छ तर दहीको पहिचान नगरी व्यापारीले पसलको फ्रिजमा जमाएको दहीलाई जुजु धौ भनेर बिक्री गर्दा दहीको पहिचान मेटिने डर भएको छ ।”

संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्यले दहीको राजा अर्थात् उत्कृष्ट दही भएकाले मल्लकालमा राजाले समेत यहाँका दही खाने भएकाले भक्तपुरको दहीलाई जुजु धौ भनिएको बताउनुभयो । जिल्लाका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेकाले संसारभरिका हरेक ठाउँमा दहीभन्दा उत्कृष्ट दही जिल्लाको दहीलाई लिने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology