• Saturday 25th of July 2026

खडेरीको चिन्ताले किसानलाई पिरालो


  • गोकर्णेश्वर अनलाइन

गत असार १५ देखि पानी नपरेपछि जिल्लाका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न र रोपिएको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु बेला लगातार टण्टलापुर घाम लागेपछि उनीहरु चिन्तित भएका हुन् । मुख्यबाली मानिएको धान रोप्ने र हुर्कने बेला पानी नपरेपछि किसानको यो चिन्ता बढेको हो ।
“झमझम पानीमा रुझ्दै खेतमा धान रोप्नुपर्ने बेला तालु फुट्लाजस्तो टण्टलापुर घामले सेक्दैछ”जिल्लाको भ–भङ्गाहा–५ सिद्धपुरका ६५ वर्षीय किसान सत्यनारायण मण्डल भन्नुहुन्छ, “यो रौदी (अनिकाल) को लक्षण हो ।” मध्ययताको आधा असार र साउनकै पनि दुई÷तीन बित्दासमेत पानी पर्ने लक्षण नदेख्दा अब धान फलाउने आश मर्दै गएको मण्डल विरक्तिदै बताउनुहुन्छ ।

सहकाल हुन साउनमा पश्चिम दिशाको हावा चल्नुपर्ने र त्यसले पानी पार्ने पाका किसान बताउँछन् । तर असार निगल्दो र साउन लागिकन पनि पूव्र्याहा (पूर्व दिशाबाट बहने हावा) रोगी तातो हावा चल्न नछाडेपछि चाँडै पानी पर्ने छाँट नदेखिएको मण्डलकै छिमेकी परेखन सादाको भनाइ छ । अहिलेको प्रचण्ड घाम र कहिलेकाँही बहने पूव्र्याहा हावा त रोगव्याध बढाउने लक्षण पो भएको ७० वर्षीय सादा बताउनुहुन्छ ।

मधेशमा खेतीपाती र मौसमका कुरामा बूढापाका ‘डाकवचन’ सम्झने गर्छन् । प्राचीन मिथिला क्षेत्रमा यी विषयमा भविष्यवाणि गर्ने ‘डाक’ भनेर चिनिने सन्तले लगभग २०० वर्ष (डाकको काल अनुमानमा भनिएको) पहिले भनेका उक्ति कतिपय बूढापाकालाई कण्ठस्तै छ ।

‘सावन मासे बहे पूर्वैया, बेचो बैल किनो गैया’ (साउनमा पूर्व दिशाबाट हावा चले खेती गर्न पालेको गोरु बेचेर गाई किन) भन्ने ‘डाकवचन’ सम्झदै भङ्गाहा–४ रामनगरका ८५ वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “ल, हेर्नोस् बाबु, अहिले यही लक्षण छ ।” साउनमा पूर्वैया हावा चल्दा पानी नपर्ने हुँदा ‘डाक’ले गोरु बेचेर दूध दिने गाई किन्न सल्लाह दिएका ‘डाकवचन’ को भाव स्पष्ट पार्दै महतो बताउनुहुन्छ ।

लगातार लामो समयदेखि पानी नपर्दा यसअघिको धानको रोपो खङ्रङ् सुक्दै गएको र पानीबेगर थप रोपाइँ गर्न नसकिएको यहाँको अवस्था छ । अब त ब्याडको धानको बेर्ना पनि पहेँलिँदै गएर सुक्न थालेको किसान बताउँछन् । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर स्थायी सिञ्चाइको प्रबन्ध नहुँदा अधिकांश जग्गाको खेती आकाशे पानीकै भरमा गर्नुपर्ने हुँदा यहाँका किसान ‘डाकवचन’ सम्झदै पिरोलिन्छन् । जिल्लामा अहिले १६ वटा सिञ्चाइ आयोजनाबाट छ हजार ९९५ हेक्टरमा बा-हैमास सिञ्चाइ उपलब्ध रहेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वर कार्यालयले जनाएको छ ।

यसैगरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ सिँञ्चाइ आयोजनाले थप पाँच हजार २३० हेक्टर जग्गामा छिट्टै सिँञ्चाइ सुविधा पुग्ने कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ । यद्यपि यी निर्माणाधीन सिँञ्चाइ आयोजना कहिले सम्पन्न हुनेहुन् यकिन नभएको किसान बताउँछन् ।

“नहर कुलो भएका ठाउँमा पनि लामो खडेरीले पानीका मुहान सुक्दैछन्, अहिलेकै मौसम केही दिन रहे अब नहर÷कुलोमा कमिलाका ताँती हिँडेका देखिनेछ” सिञ्चितक्षेत्र मानिने बर्दिबास–३ कालापानीका ७० वर्षीय किसान नरबहादुर पुलामी भन्नुहुन्छ, “आकाशे भरका जग्गाको खेती त भोग्नेले भोग्दै आएकैछन् ।

जिल्लामा साउन पहिलो साता चलिरहँदा अहिलेसम्म ४५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क छ । यद्यपि पानी नपर्दा विभिन्न वैकल्पिक उपाय गरेर रोपिएको धान अहिलेको चर्को घामले रोपोमै सुक्दै गएको किसानले बताएका छन् । जिल्लामा पानी नपर्दा किसानले इनार र बोरिङमा पम्पसेट लगाएर वैकल्पिक सिँञ्चाइ गर्ने गर्छन् ।

तर यो इन्धनको मूल्य आकासिदा महँगो पर्ने भएपछि सधैँ अपनाउन गारो पर्ने किसानको भनाइ छ । अनि इनार र बोरिङमा खडेरीसँगै पानीको सतह गहिरिँदै जाँदा पम्पसेट चलाउन पनि नसकिने किसान बताउँछन् । यसपाली असार लागेयता १५ असारसम्म बेलाबेलामा पानी पर्दै आए पनि त्यसअघि ब्याड राख्न नै ढिलो भएको हुँदा तयार बीउ (बेर्ना) पर्याप्त नहुँदा रोपाइँ जम्न सकेको थिएन । असार १५ सम्मको पानीले पाँच÷सात दिन खेती चलेपनि त्यसपछि लगातारको खडेरीले खेत सुक्दै गएर रोपाइँ रोकिएको छ । अब त लामो खडेरीले धान रोपाइँ थप्ने भन्दा पनि रोपिएको धान कसरी बचाउने भन्ने चिन्ता बढेको भङ्गाहा–४ थारुटोल बनराका किसान रामधारी सिंह थारु बताउनुहुन्छ ।
किसान करिब २० दिनको खडेरीले पिरोलिए पनि कृषि विज्ञ भने अझै आत्ति हाल्ने बेला नभएको बताउँछन् । खेतीमा यदाकदा ढिलोचाँडो हुनेहुँदा साउन पहिलो सातामै अब खेती बढेन भन्ने चिन्ता नलिन किसानलाई विज्ञले ढाडस दिएका छन् ।

साउनभरि रोपाइँ चल्ने हँदा अब पर्ने पानीमा पनि खेती गर्न (रोपाइँ) सकिने कृषि विज्ञ वरिष्ठ कृषि विकास अधिकृत डा यादवको भनाइ छ । मधेशमा धानको मूल बीउ (बेर्ना) र खरुवन गरी दुई विधिबाट धान रोपाइँ हुँदै आएको छ । अब पानी पर्दा बीउको कमी भएमा खरुवनको रोप गर्नसकिने विकल्प रहेको कृषिविज्ञ बताउँछन् । बीउको शाही रोप सकिएपछि थप रोपाइँ गर्नुपर्दा पहिलो रोपो गाँजिएपछि त्यसलाई उखेलेर फेरि रोप्ने चलन छ । यसलाई खरुवन भनिन्छ । जिल्लामा अहिले बीउ सकिए पनि अब पर्ने पानीले यसअघि रोपिएको धान गाँजिएपछि खरुवन लगाएर सबै खेतीयोग्य जग्गामा रोपाइँ गर्न पुग्ने बीउ हुने डा. यादव बताउनुहुन्छ ।

जिल्लामा सरदर प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन धान उत्पादन हुने गरेको सरदर आँकडा विज्ञ सुनाउँछन् । यहाँका रैथाने जातिका धानमा बासमति, जसवा, सञ्जिरा र वानपाकीजस्ता मुख्य मानिन्छन् । त्यसैगरी विकसित जातका भनिने सावित्री, हर्दिनाथ–१ र २ , स्वर्णा सव– १, साँवा सव– १, सुख्खा– १,२ र ३, एवं भारतीय जातका सोना मन्सुली र कतरनी बढी लगाइने गरिएको वरिष्ठ कृषि विकास अधिकृत डा यादवको भनाइ छ ।

जिल्लाका आम सर्वसाधारण किसानले भने कृषिसम्बद्ध कार्यालयका सेवा पाउन छाडेको दशक नाघिसकेको गुनासो गरेका छन् । बेलामा बीउ किन्न नपाइएको मात्र नभइ सामान्य खेतीपातीका लागि कृषि प्राविधिकको सरसुझाव पनि पाउन छाडिएको किसान बताउँछन् । किसानलाई कृषि सेवा बढाउन जिल्लाका १५ वटै स्थानीयतहमा वैकल्पिक सिँञ्चाइको प्रबन्धलाई महत्व दिएर व्यवस्थित गरेमात्र आपूmहरुले केही लाभ पाउनसक्ने जलेश्वर नगरपालिका–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डलको भनाइ छ । जिल्लामा कुनै स्थानीयतहले कृषि शाखा व्यवस्थित गर्नतर्फ रुचि नदेखाउनुले यसप्रतिको उपेक्षा अड्कल गर्नसकिने किसानको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology